२४ जेठ २०८३, आइतबार

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

मंसिर १९, २०७९
विद्यार्थीलाई निःशुल्क यातायात सेवा
प्रतिकात्मक तस्वीर

चितवन जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा शुरूआत गरेको छ ।

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । 
 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्वजनिक यातायातमा निःशुल्क गरिएको हो ।  यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए ।

अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनले जानकारी दिए । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र १२ कक्षा सञ्चालनमा आएका ४ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ६०० हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए ।
 
उनले भने, ‘निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले १४ लाख बजेट विनियोजन गरेको छ ।’ पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो । 

मंसिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।
 
उनले भने, ‘कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो ।’ सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ ।

ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले ४ वटा विद्यालयलाई यसअघि नै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्