०६ साउन २०८३, बुधबार

काभ्रेमा ३ महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

मंसिर १९, २०७९
काभ्रेमा ३ महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
प्रतिकात्मक तस्वीर

काभ्रेमा ३ महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको संक्रमण देखिएको हो ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण १ महिनाको अवधिमा ४ दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । 

महाभारत गाउँपालिकामा मरेका २ गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नम्बर वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट २ गाई मरेका थिए । वडा नम्बर १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो । 

वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शंकास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताए । उनले आवश्यकताअनुसार रेबिज विरुद्धको सूइँको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिए ।

गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् । 

कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताए । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताए ।

उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको संक्रमण केही वर्ष नै रहिरहने देखिएको छ । 

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नम्बर वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैंसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शंकास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला १ महिनाको अवधिमा करीब ४ दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनाएको छ ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौंरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक ८ वर्षीय बालक र २ पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । १ वर्षअघि चौंरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेविज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । ९९ प्रतिशत संक्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

कमेन्ट गर्नुहोस्