२४ जेठ २०८३, आइतबार

बुटवलमा जग्गाको कित्ताकाट खुला

मंसिर १९, २०७९
बुटवलमा जग्गाको कित्ताकाट खुला

बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेसँगै जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो ।

जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमवार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

बैठकले शहरीकरणतर्फ उन्मुख रहेका र वडाहरूबाट गैरकृषि क्षेत्र कायम राख्न सिफारिस भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरूलाई गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ । 

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनःविचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैरकृषि क्षेत्र कायम गर्ने निर्णय गरेको उनले  बताए 

यस्तै, वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ । यस्तै गरी, वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरूका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरू गैरकृषि क्षेत्र कायम भएका छन् ।

‘जग्गा वर्गीकरणका लागि वडामार्फत सूचना गर्दा कृषि क्षेत्र कायम राख्नका लागि भन्दा गैरकृषि क्षेत्र कायम राख्न बढी निवेदन आएका छन्’, भू उपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले भने, ‘वडा नं १४ देखि १७ सम्मका ५४ जनाले मात्रै आफ्ना जग्गा कृषि क्षेत्र कायम राख्न निवेदन दिएका थिए ।’

salt training

कमेन्ट गर्नुहोस्