०३ साउन २०८३, आइतबार

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

मंसिर १९, २०७९
ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने

ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने जानकारी दिए । 

मेयर महर्जनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने बताए । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ । 

‘यहाँ हामी जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता भएन । अब हामीले यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई हामीले निरन्तरता गर्छौँ । त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा हामी व्यवस्थापन गर्छौँ । अर्को वर्ष तपाईंहरूले यसको रिपोर्ट पाउनुहुनेछ’, महर्जनले भने । 

ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरूलाई सम्मान तथा प्रोत्साहनसमेत गरेको थियो । 

स्वयंसेविकाहरूलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरे । निरन्तर रूपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरूको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे ।

महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेविकहरू भएको बताए । उनले स्वयंसेवकहरूले गरेको प्रभावकारी कामका कारण नै आफूलाई मत दिएर जिताएको उनको भनाइ थियो । 
‘मैले भन्नैपर्छ गएको स्थानीय चुनावमा मलगायत साथीहरू जित्नुको मुख्य कारण तपाईंहरू नै हो । तपाईंहरूले कोभिड १९, डेंगुको बेलामा जति सेवा गर्नुभयो त्यो सेवालाई सम्मान गरेर, मेरो नेतृत्वमा भयो त्यो काम । तसर्थ चिरिबाबु तिमीले जित्नुपर्छ भनेर मलाई भोट दिए । कुरा यही हो । यसका निम्ति तपाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहेँ’, महर्जनले भने, ‘कोभिड आउनु अगाडि मैले यही मञ्चबाट घोषणा गरेको थिएँ, तपाईंलाई म पुरस्कारको व्यवस्थापन गर्छु भनेर, आज उत्कृष्ट टिमलाई हामीले एक लाख रुपैयाँ पुरस्कारको व्यवस्थापन गरेर पुरस्कार दियौँ । यहाँहरूले महानगरप्रति गर्नुभएको सेवा, त्याग छ, त्यसको हामी उच्चस्तरबाट प्रशंसा गर्छौं ।’

स्वयंसेविकाहरूको कामका कारण नै स्थानीय तहहरूमध्ये ललितपुर महानगरपालिका उत्कृष्ट हुन पुगेको उनले बताए । आगामी दिनमा पनि सेवा र त्यागको भावना राख्दै काम गर्न उनले आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्