०४ असार २०८३, बिहीबार

मेलम्ची आयोजनाबारे प्रधानमन्त्रीलाई प्रकाशमानले गराए ध्यानाकर्षण

मंसिर २०, २०७९
मेलम्ची आयोजनाबारे प्रधानमन्त्रीलाई प्रकाशमानले गराए ध्यानाकर्षण

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने माग गरेका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै प्रतिनिधि सभा सदस्य सिंहले मेलम्ची आयोजना काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानको एक मात्र विकल्प भएको उल्लेख गर्दै समिति ब्यूँताउनुपर्ने बताएका हुन् । 

उनले समिति खारेज गर्दा आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै पुनः ब्यूताउँनुपर्ने बताए । उनले तत्काल मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने, सीएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरि पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने, कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

खानेपानी मन्त्रालयलाई समेत बोधार्थ लेखिएको ध्यानाकर्षण पत्रमा मेलम्ची आयोजनाको दिगोपनाका लागि गर्नुपर्ने दीर्घकालीन कामहरू पनि उल्लेख गरिएको छ । 

यस्ताे छ ध्यानाकर्षण पत्र

मिति : २०७९ मंसिर २० गते
सम्माननीय प्रधानमन्त्रीज्यू, 
सिंहदरबार, काठमाडौं ।
विषय : ध्यानाकर्षण पत्र ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंबासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो । नेपाली कांग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नु भएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना कांग्रेस नेतृत्वमै साकार भएको छ । यो हामी सबैका लागि गौरवको विषय हो । मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमी प्रति काठमाडौंवासी आभारी छौं । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँबासीमा चिन्ता छाएको छ । बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजना लाई पानी दिर्घकालीन रुपमा अगाडी बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ । त्यस कार्यमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने देखिन्छ । तसर्थ तपसिलका विक्ष्यमा सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी गराउदछौँ । 

तत्काल गर्नुपर्ने काम

१. आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने ।

२.मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने ।

३.सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने ।

४.वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने । 

५ कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ । 

दीर्घकालीन रूपमा गर्नुपर्ने 

१.बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने ।

२. अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने ।

३.मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने ।

४. मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ । अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं । तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँं ।  

काठमाडौँ जिल्लाका जनप्रतिनिधिहरुको तर्फबाट
प्रकाशमान सिंह 
प्रतिनिधि सभा सदस्य, 
काठमाडौं क्षेत्र नं १
बोधार्थ तथा कार्यार्थः खानेपानी मन्त्रालय

 

salt training

कमेन्ट गर्नुहोस्