
दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार दाङका केही गाउँपालिकासहित सल्यान, रोल्पाबाट उत्पादित तरकारी पनि बजारीकरणका लागि तुलसीपुर नै केन्द्र बन्ने गरेको बताए ।
‘तुलसीपुर यस क्षेत्रको मात्रै होइन, बाहिरी जिल्लाको बजारीकरण केन्द्र हो,’ उनले भने, ‘त्यसैले यहाँको तरकारी बजारलाई व्यवस्थित गर्नतर्फ लाग्नुपर्छ ।’
अहिले उपमहानगरपालिकामा उत्पादित तरकारीसँगै दङ्गीशरण, बबई, शान्तिनगरको तरकारीको बजार केन्द्र पनि तुलसीपुर हो । सल्यानको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाबाट पनि तुलसीपुरमै तरकारी आउने गरेको छ ।
तरकारी बजारीकरणका लागि २ करोड ३३ लाख रुपैयाँ लगानीमा तरकारी मण्डी सञ्चालनमा ल्याइएको छ । मावि सेन्टरको १२ कठ्ठा १७ धुर भाडामा लिएर तरकारी मण्डी सञ्चालनमा ल्याइएको हो । जहाँ ३८ कोठा रहेका छन् । तीमध्ये १६ वटामा तरकारी व्यापार, १९ वटा कोठामा फलफूल व्यापार गर्ने गरिएको छ ।
विक्रम संवत् २०६८ सालमा बजार दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।
तुलसीपुरमा मात्रै दैनिक ४ लाख बराबरको कारोबार हुने गर्छ । तुलसीपुरमा दैनिक ७ लाख बराबर फलफूल कारोबार हुने गर्छ । तुलसीपुरमा मात्रै १८ हजार मेट्रिक टन तरकारी उत्पादन हुने गर्छ । तुलसीपुरमा १७ हजार २२१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ तर १५ हजार २२७ हेक्टरमा मात्रै खेती हुने गरेको छ ।
तुलसीपुरमा ९ हजार ९९९ हेक्टर खेतको क्षेत्रफल रहेको छ भने ६ हजार १२८ हेक्टर पाखोको क्षेत्रफल छ । जसमध्ये खेतीयोग्य जमिनमा बाली नलगाएको क्षेत्रफल १ हजार ९८५ रहेको छ ।
तुलसीपुरमा ६०.५ प्रतिशत कृषि आश्रित परिवार छ ।
तुलसीपुरमा हाल ४८५ कृषक समूह रहेका छन् । तुलसीपुर ६० समूह तथा सहकारीले रासायनिक मलखादको विक्रेताको इजाजत लिएका छन् । तुलसीपुरमा ४५० वटा कृषि घरेलु फार्म दर्ता भएका छन् ।