
सिद्धार्थ बैंक सञ्चालक समितिको ४०२औँ बैठकले आ.व. २०७८/७९ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
मंगलवार बसेको बैठकले बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ को १२.५० प्रतिशत बराबरको रु १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३५४ बोनस शेयर तथा ०.६६ प्रतिशत बराबरको रु. ८ करोड २३ लाख ९७ हजार ५४५ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।
निरन्तर उल्लेख्य प्रगति गरी शेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गर्दै आएको यस बैंकको आ.व. २०७९÷८० को पहिलो त्रैमासमा वर्तमान विषम बजार अवस्थाका कारण साँवा तथा ब्याज रकम असुलीमा देखिएको कठिनाईलाई मध्यनजर गरी केही कर्जाहरूमा बैंकले डायनामिक कर्जा नोक्सानी व्यवस्था गरेको कारण यस बैंकको नाफामा देखा परेको केही संकुचन त्यस्ता कर्जाहरूबाट बैंकले उल्लेख्य रुपमा बक्यौता रकम असुली गरी सकेको हुँदा दोस्रो त्रैमासमा बैंकको समग्र वित्तिय अवस्थामा सन्तोषजनक सुधार आउने बैंकले विश्वास लिएको छ ।
सिद्धार्थ बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग, २१५ एटीएम, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंक पार्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।