२५ जेठ २०८३, सोमबार

सौगात मल्ल : फिल्म चलोस्–नचलोस् अफरको ओइरो, असारसम्मलाई छैन समय

मंसिर २१, २०७९
सौगात मल्ल : फिल्म चलोस्–नचलोस् अफरको ओइरो, असारसम्मलाई छैन समय

वर्ष २०७९ मा सौगात मल्लका ७ वटा फिल्म प्रदर्शनमा आइसके । वैशाखमा प्रदर्शनमा आएको ‘मन्त्र’देखि कात्तिकमा प्रदर्शनमा आएको ‘लाखे’सम्म आउँदा २ वटा फिल्म मात्र हिट भए । बाँकी ५ फिल्मले प्रदर्शनपछि फ्लपको ट्याग लगाउनुपर्‍यो । 

यद्यपि, हिटभन्दा फ्लप फिल्म दोब्बर बढी दिए पनि सौगातलाई यसले असर गरेको भने देखिँदैन । त्यसैले त फिल्म चलोस्–नचलोस् उनको हातमा फिल्म नै फिल्म छन् । हिजोआज पनि दिनहुँ कोही न कोही निर्माता एवं निर्देशक अफर लिएर उनीकहाँ पुगिरहेका छन् ।  तर, अब सौगातले नयाँ फिल्मलाई साउनभन्दा अगाडि समय दिनसक्ने अवस्था भने छैन । 

उनले साइन गरिसकेका फिल्मको संख्या ठूलो छ । यद्यपि, तत्काल निर्माण हुने फिल्महरू हेर्दा सौगात असारसम्मका लागि ‘प्याक’ भइसकेका छन् । मंगलबार सौगातलाई भेटेका एक निर्देशकले लोकान्तरसँग भने, ‘उहाँको हातमा कति धेरै फिल्म हुन् । असारसम्म प्याक भइसक्नुभएको रहेछ ।’

सौगातले ति निर्देशकलाई बताएअनुसार पुस महिनाभर उनले कुनै फिल्ममा अभिनय गर्ने छैनन् । त्यसपश्चात शुरुवातमा उनले निश्चत बस्नेतको निर्देशनमा बन्ने ‘अनटाइटल’ फिल्ममा अभिनय गर्नेछन् । लेखक एवं समीक्षक यज्ञशको लेखन रहने फिल्ममा खगेन्द्र लामिछानेको पनि सहकार्य हुँदैछ । 

निश्चलको फिल्मपश्चात सौगातले ‘दुई नम्बरी’निर्माताको नयाँ फिल्म ‘हात्तीछाप’मा अभिनय गर्ने सम्भावना देखिन्छ । उनलाई उक्त फिल्मको कथा र टिम पनि मन परेको छ । त्यसपश्चात सौगातले फिल्म ‘हरि’ निर्माण टिमले बनाउने फिल्मलाई समय दिनेछन् । केही वर्षअघि प्रदर्शनमा आएको विपिन कार्की अभिनित ‘हरि’ समीक्षात्मक रुपमा सफल मानिन्छ । 

फिल्म निर्देशक मनोज पण्डित र अभिनेता सौगातबीच पनि नयाँ फिल्ममा सहकार्य हुने तयारी छ । मनोज र सौगातले यसअघि ‘दासढुंगा’ र ‘बधशाला’मा सहकार्य गरेका थिए । सौगातले आफ्नै प्रोडक्सन हाउसबाट अर्को एउटा फिल्म बनाउने सोँच पनि बनाएका छन् । यद्यपि, त्यसका लागि भने समय लाग्ने बताइएको छ । 

सौगात मल्ल नेपाली फिल्मका यस्ता अभिनेता हुन्, जो सिधैं सुटिङमा जाँदैनन् । पात्रको तयारीका लागि केही समय लिने अथवा वर्कशपमा बस्ने उनको बानी छ । त्यसकारण पनि यी फिल्मका लागि कम्तिमा ६ महिना समय लाग्ने देखिन्छ । त्यस हिसाबले सौगातले साउनभन्दा अघि नयाँ अन्य फिल्ममा अभिनय गर्ने सम्भावना एकदमै कम छ । अब, उनलाई फिल्मको प्रस्ताव लिएर पुग्ने निर्माता एवं निर्देशकहरूले साउनसम्म कुर्नुपर्नेछ । त्यसका लागि पनि सौगातलाई फिल्मको कथा चित्त बुझ्नुपर्‍यो ।

सौगातले कथा चित्त नबुझेका थुप्रै फिल्महरू अस्वीकारसमेत गर्दै आएका छन् । वास्तवमा उनी छनोट गरेरै फिल्ममा अभिनय गर्न चाहन्छन् । ‘तर, कतिपय साथीभाइको अनुरोधलाई अस्वीकार गर्न सकिँदोरहेनछ’, केही महिनाअघि सौगातले लोकान्तरसँग भनेका थिए,  ‘जसका कारण पनि मेरो फिल्महरू धेरै आएका हुन् । यद्यपि, कतिपय फिल्म चल्दैनन् भन्ने पहिल्यै महसुस भइसकेको हुन्छ ।’

निश्चल बस्नेतको फिल्म ‘लुट’मा ‘हाकु काले’ पात्रको भूमिका निर्वाह गरेसँगै सौगातको चर्चा र लोकप्रियता ह्वात्तै चुलिएको हो । त्यसयता, उनी नेपाली फिल्ममा रोजाइका अभिनेतामा पर्दै आएका छन् । अहिलेको सन्दर्भलाई हेर्दा उनको नामले मात्रै हलसम्म दर्शकको ठूलो भीड तानिने गरेको देखिँदैन, तर उनीप्रति निर्माता एवं निर्देशकको विश्वास भने गज्जबकै देखिने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्