१२ असार २०८३, शुक्रबार

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

मंसिर २२, २०७९
डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन
फाइल तस्बिर

दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ । तर पनि जहाजमा इन्धन (रिफिल) भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । त्यस्तै मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन रिफिल गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफिल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ । तर, पनि जहाजमा रिफिल गर्न सकिएको छैन । 

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ग्राउन्डेड हुँदा  हवाई सेवा नियमित भएको छैन । मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यस अघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा डकुमेन्टका कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ । 

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौँबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो । त्यसलेगर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदैआएको थियो ।  

अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम रु आठ हजार आठ सय १० छ भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्