काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बाढी प्रभावित जिल्लाहरुमा पुगेका छन् । आइतबार मन्त्री शर्माले दुई दिनदेखि परेको अविरल बर्षाका कारण ठुलो क्षती भएको बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी तथा सप्तरी लगायतका जिल्लाहरुको अवस्था निरीक्षण गर्दै राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न स्थानिय प्रशासनलाई निर्देशन दिएका छन् ।

बाँकेबाट बाढी प्रभावित बस्तिको निरीक्षण शुरु गर्दै मन्त्री शर्माले स्थानीय प्रशासन र सरोकारवाला निकायहरुलाई २४ सै घण्टा स्ट्याण्डबाई रहेर जनताको सेवामा लाग्न निर्देशन दिए ।
राज्यसँग न्युन मात्रामा स्रोत साधन भएको र ठुलो बिपत्ति आईलागेको उल्लेख गर्दै शर्माले भने, ‘हामीले पहिलो चरणमा उद्धारमा ध्यान दिनुपर्छ, प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याएर कोही पनी भोको नरहने गरी आवश्यक ब्यवस्था मिलाउनुस् ।’
पशुपंक्षी विकास मन्त्री सन्तबहादुर थारु, गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी बलका महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महतलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका शर्माले काम गर्दा आईपरेको सवै जिम्मेवारी लिने उल्लेख गर्दै राहत र उद्धारमा आर्थिक लगायतका कुनै संकट आउने नदिने बताए ।