बालबिवाहलाई न्यूनीकरण गर्न र स्थानीय अभिभावकलाई सचेत गराउने उद्देश्यले २० वर्ष उमेर पुगेर मात्र विवाह गर्ने छोरीचेलीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपियाँ सहयोगको अभियान शुरु भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बाह्रौ कक्षा उत्तीर्ण गरेर २० वर्ष पुगेर विवाह गर्ने छोरीलाई सो सहयोग प्रदान गर्ने अभियान शुरु गरेको हो । गत बैशाखमा बसेको पहिलो कार्यपालिका बैठकले त्यो निर्णय गरेको थियो ।
गाउँपालिकाको त्यही निर्णयअनुसार शुक्रबार पहिलो पटक चन्द्रनगर गाउँपालिका –२, बबरगञ्ज दनुवारी टोल बस्ने हरदेव कुँमर दनुवारकी छोरी रेणुकुमारी सिंहलाई गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाको तर्फबाट विवाह मण्डपमै गएर ५० हजार रुपियाँको चेक हस्तान्तरण गरे ।
२२ वर्षीया रेणुकुमारीले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गरेर मात्र विवाह गरेकी हुन् । अध्यक्ष महतोले अब पालिकाभित्रका अन्य छोरीहरुलाई पनि सो सहयोग प्रदान गर्ने बताए ।
आफू पदबहाली गर्दाताका नै सो विषयमा निर्णय गराएको भन्दै अध्यक्ष महतोले यस अभियानले शिक्षामा चेलीबेटीको पहुँचमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । “मधेशमा बालविवाह धेरै छ, बालविवाहको अन्त्य गर्न र छोरीहरुको उच्च शिक्षामा पहुँच बढाउन यो अभियान शुरु गरेका छौं ।”
छोरीहरुले स्नातक तह अध्ययनका लागि भर्ना भएर आवश्यक कागजात गाउँपालिकामा पेश गरेमा गाउँपालिकाले थप ११ हजार रुपियाँ पनि सहयोग गर्ने अध्यक्ष महतोले बताए ।
रेणुकुमारीले ईश्वरपुर नगरपालिका –७, पोखरी टोल बस्ने २९ वर्षीय जितेन्द्र सिंहसँग विवाह गरिन् । रेणुकुमारीका बुवा हरदेव कुँमर दनुवारले छोरीलाई दाईजोविना नै विवाह गरेको बताए । गाउँमा दाइजोप्रथा व्याप्त भए पनि अरुलाई सन्देश दिन आफूले त्यसो गरेको उनको भनाइ छ । गाउँपालिकाको सहयोगले आफू निकै खुशी भएको उनले बताए ।
गाउँपालिकाले विवाह मण्डपमै आएर सहयोग गर्दा आफूलाई खुशी लागेको रेणुकुमारीले बताइन् । यो अभियानले स्थानीय दिदीवहिनीलाई उच्चशिक्षा हासिल गर्न सहयाग पुग्ने उनले बताइन् ।