बर्दिवास, २९ साउन - महोत्तरी कारागारका कैदी बन्दी दुई दिनदेखि भोकभोकै परेका छन् ।
कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि नै कैदी बन्दीले खाना नपाएका हुन् । रातु र बिगही नदीमा आएको बाढी बाँध भत्काउँदै जलेश्वर नगर पसेसँगै गहिरो ठाउँमा रहेको कारागार परिसरमा पाँच फिट पानी पसेको हो ।
बाढी कैदी थुनुवा कक्षमा पस्नासाथै आपूmहरुलाई माथिल्लो तलामा सारिए पनि खाना पकाउने ठाउँ र सामग्रीको अभाव भएकाले दुई दिनदेखि भोकभोकै बस्नु परेको कारागारका चौकीदारसमेत रहेका कैदी श्रीनारायण महतोले बताए ।
जम्मा १३५ कैदी राख्ने क्षमताको सो कारागारमा अहिले महिला कक्षमा आश्रित दुई बालबालिकासहित ४२ र पुरुष कक्षमा ३६० सहित जम्मा ४०२ जना कैदी बन्दी छन् । भुइँ तल्लामा रहेका कैदी बन्दीलाई माथिल्लो तलामा लैजाँदा उभिने ठाउँसम्म पाउन पनि कठिन भएको महिला कैदी ललिता सिंहले बताइन् ।