
नेपाल समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज (शनिवार) सम्पन्न भएको छ । शुक्रवारदेखि शुरु भएको बैठकमा भर्खरै सम्पन्न निर्वाचनको बारेमा प्रदेशहरुबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि पनि छलफल गरिएको थियो । साथै पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदाताहरूलाई धन्यवाद ज्ञापन पनि गरिएको नेपाल समाजवादी पार्टीले जानकारी दिएको छ । नेसपाका उम्मेद्वारहरुमध्ये सर्लाही २ मा प्रतिनिधि सभा सदस्यमा महीन्द्र राय यादव विजयी भएका छन् । त्यस्तै प्रदेश सभामा सिन्धुली र गोरखामा गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।
त्यस्तै मधेशबाट प्रतिनिधित्व हुने गरी समानुपातिकतर्फ उमरावती यादवलाई प्रतिनिधि सभामा पठाउने पनि निर्णय भएको छ । लुम्बिनी प्रदेशमा समानुपातिक प्रणाली तर्फबाट राजु नेपालीलाई प्रदेश सभामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।