काठमाडौँ, ३० साउन - केही दिनदेखिको अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६६ पुगेको छ । यसैगरी ५३ जना बेपत्ता र २८ जना घाइते भएका छन्, गोरखापत्रमा खबर छ ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण एक हजार ५०० वटा घरमा क्षति पुगेको छ । तीमध्ये ३५० पूर्ण रूपमा क्षतिग्रस्त भएको, ३४ वटा सरकारी संरचनामा क्षति पुगेको, ३९७ चौपाया मरेको, ३४ हजार ८४३ वटा घर डुबानमा परेको छ ।
बाढीपहिरोबाट मुलुकका करिब २५ वटा जिल्ला प्रभावित भएका छन् । तीमध्ये तराईका ११ वटा जिल्ला अतिप्रभावित भएका छन् । सुनसरीमा आठ जनाको मृत्यु तथा पाँच जना बेपत्ता र रौतहटमा सात जनाको मृत्यु भएको छ ।

त्यस्तै मोरङमा पाँचको मृत्यु तीन बेपत्ता, पाँचथरमा एकको मृत्यु तीन बेपत्ता, झापामा चारको मृत्यु चार बेपत्ता, सर्लाहीमा तीन, बारामा दुई, सिन्धुलीमा चार, धनुषामा एक, पाल्पामा एक, बाँकेमा चार, सुर्खेतमा तीन र कैलालीमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा एकको मृत्यु र एक बेपत्ता, दाङमा दुई बेपत्ता तथा दुई घाइते र बर्दियामा तीनको मृत्यु र तीन जना घाइते भएका छन् ।
तराईका प्रायः सबै स्थान बाढीको चपेटामा परेका छन् । तीमध्ये सुनसरी, मोरङ, सप्तरी, झापा, रौतहट, बारा, चितवन, बाँके, बर्दिया र कैलाली बाढीबाट बढी प्रभावित भएका छन् ।
पहिरोबाट पाँचथर, तेह्रथुम, मकवानपुर, सिन्धुली, पाल्पा, गुल्मी, सुर्खेत लगायतका पहाडी जिल्ला प्रभावित भएको जानकारी पनि गृह मन्त्रालयले दिएको छ । सप्तकोसी र नारायणी नदीको बहाव उच्च रहेकाले सुरक्षित रहन रातो झन्डा तथा साइरन घन्टी बजाएर स्थानीयवासीलाई सचेत गराइएको जनाएको छ ।
खराब मौसमका कारण सैनिक हेलिकोप्टरले उडान गर्न नसक्दा उद्धारमा केही समस्या देखिएको स्पष्ट पार्दै मन्त्रालयले स्थानीय स्रोतसाधन प्रयोग गरी जिल्लामा तैनाथ सुरक्षा निकाय, रेडक्रसका प्रतिनिधि, गैरसरकारी सङ्घसंस्था तथा उद्योगी व्यवसायीहरूसँग आग्रह गरेको छ ।