
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले हृदयघातबाट निधन हुनुभएका पत्रकार नरेश सर्राफको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । पत्रकार सर्राफको मङ्सिर १५ गते निधन भएको थियो ।
स्थानीय रेडियो वीरगञ्ज परिसरमा आयोजित श्रद्धान्जलि सभामा नगर प्रमुख सिंहले पत्रकार सर्राफकी छोरीको नाममा पाँच लाख रुपियाँ फिक्स डिपोजिट गरिदिने, कक्षा १० सम्मको पढाइको सबै खर्च महानगरपालिकाले ब्यहोर्ने र स्वर्गीय पत्रकार सर्राफको नाममा १० लाख रुपियाँको अक्षयकोष खडा गर्ने घोषणा गरे ।
पत्रकार सर्राफको योगदानलाई बिर्सन नसकिने धारणा सहभागीहरुले श्रद्धाञ्जलि सभामा व्यक्त गरेका थिए । समाजवादी प्रेस संगठन पर्सा र रेडियो वीरगञ्जले श्रद्धान्जलि सभाको आयोजना गरेका थिए ।
स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख रुपियाँ, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपियाँ र राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपियाँ नगद सहयोग गरेका थिए । हृदयघातबाट ज्यान गुमाएका ३८ वर्षीय पत्रकार सर्राफ नेपाल पत्रकार महासंघ पर्साको वर्तमान जिल्ला कार्य समिति सदस्य थिए ।