स्पेन, ३० साउन — गैरआवासीय नेपाली संघ स्पेनले केही दिनयता नेपालमा भएको अविरल वर्षाका कारण तराई र पहाडमा पुगेको क्षतिले स्तब्ध बनाएको जनाएको छ ।

आइतवार संघले स्पेनमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ, आमाबुवा तथा दिदीबहिनीहरूलाई आर्थिक संकलनमा सहयोग गर्न सहयोगी हातहरू बढाउन अपिल गरेको छ ।
‘अविरल वर्षाका कारण १५ भन्दा बढी जिल्लाहरू प्रभावित भई बाढी र पहिरोको कारण जनधनको ठूलो क्षति भएको खबरले हामी स्तब्ध भएका छौं,’ संघले भनेको छ, ‘यस प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्दछौं । साथै घाइते दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं ।
बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार कार्यलाई छिटोछरितो बनाउन नेपाल सरकारसँग विशेष अनुरोध गर्दै स्पेनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राहत संकलनको लागी हार्दिक अपिल समेत संघले गरेको छ ।
तत्काल संघको समन्वयन तथा विभिन्न सामाजिक संघसंस्थाहरूलाई जेजस्तो अवस्थामा भएपनि आर्थिक संकलनमा लाग्न संघले आग्रह गरेको छ ।
संघले विशेष अनुरोधमा देशको यस विषम परिस्थितिमा हातेमालो गर्नुहुन सम्पूर्णले एक ढिक्का बनेर सहयोगको अपेक्षा गरेको अध्यक्ष चिन्तामणि सापकोटालाई उद्धृत गर्दै संघका कोषाध्यक्ष विशाल ढुङ्गानाले लोकान्तरलाई बताए ।