
दैलेखको भगवतीमाई गाउँपालिका ३ मेतलपाटाका वीरेन्द्र खड्का जन्तीसहित दुलही लिन शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए । माइतीघरमा आइतवार बिहानैदेखि बिहेको कर्मकाण्ड चलिरहेको थियो । दिउँसो भोज खाइवरी सबै जना आ–आफ्नो घरतर्फ लाग्दै थिए । जन्ती पनि फर्कने तयारीमै थियो । बिहेको माहोलमा सबै रमेका थिए ।
दुलही सम्झना बुढाका भिनाजु दीपक अधिकारी अघिल्लो दिन गाउँले युवाहरूबीच भएको झडपमा परी घाइते भएका थिए । बिहेका कारण उपचारमा जान पाएका थिएनन् । दीपकलाई चोटका कारण असजिलो भइरहेको थियो । जब बिहे सकिन थाल्यो, त्यही जन्ती लिने गाडीले उनलाई नजिकको थलह स्वास्थ्यचौकी पुर्याइदिने सल्लाह भयो । गाडीमा दीपकसँगै श्रीमती नैनसरा र उनका पाँच वर्षीया छोरी निशा पनि चढे । बिहेबाट फर्कँदै गरेका अन्य गाउँले, आफन्तहरू पनि त्यही मौकामा गाडी चढे । बिरामीसहित ११ जना यात्रु बोकेको गाडी अस्पताल नपुग्दै मध्यपहाडी राजमार्गको भीरपाटी भन्ने स्थानमा सडकबाट झण्डै २५० मीटर तल खस्यो ।
दुर्घटनास्थल दुलहीको घरबाट दुई किमी टाढा पर्दछ ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेहरूमा दैलेख भगवतीमाई गाउँपालिका वडा नं २ का मानबहादुर रावत, अमर खड्का, वडा नं ३ का वीरेन्द्र केसी, जाजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, निशा अधिकारी, अमर अधिकारी, जयकुवारा बुढा, देवीसरा बुढा, रामबहादुर बुढा, वडा नं ६ का वीरबहादुर खत्री र जयलाल अधिकारी रहेका छन् । रावत चालक हुन् । उनकी श्रीमती देवीसरा अघिल्लो महिला घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
उक्त घटनापछि देवीसराको मानसिक सन्तुलन गुमेको छिमेकीहरू बताउँछन् । चालक रावतका दुई छोराछोरी छन् । दुर्घटनापछि दुलाहा र दुलही पक्षका आफन्त, गाउँले शोकमा डुबेका छन् । ‘बिहेको रौनक सेलाउन नपाउँदै भयानक अकल्पनीय दुर्घटना भयो, ठूलो मानवीय क्षति हुन पुगेको छ’, दुलाहाका काका पदमराज खड्काले भने । गाडीधनी दानबहादुर थापा भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । उनले चुनाव अघि किनेको यो गाडी भर्खर चलाउन थालेको बताए । ‘गाडी नयाँ नै हो, राजमार्ग पनि फराकिलो र कालोपत्रे भएको छ, कसरी दुर्घटनामा परेछ ?’ उनले आश्चार्य व्यक्त गरे ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले तीव्र गति र यात्रुको भार बढी हुँदा दुर्घटना भएको हुन सक्ने बताए । ‘भीर भए पनि बाटो पीच र फराकिलो रहेछ, फर्कने हतारोका कारण चालकले स्पिड बढाएको हुनुपर्छ’, उनले भने, ‘गाडीमा सवार सबैको मृत्यु हुनु र प्रत्यक्षदर्शी कोही नहुँदा दुर्घटनाको यकिन कारण पत्ता लगाउन सकेका छैनौँ ।’
प्रवक्ता श्रेष्ठले दुर्घटनाको खबर पाएलगत्तै जाजरकोटबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गर्नुका साथै घाइते र मृतकको उद्वार गरिएको बताए । मृतकको छेडागाडस्थित दशेरा स्वास्थ्य चौकीमा पोष्टमार्टम गर्ने तयारी भइरहेको छ । त्यसका लागि सदरमुकाम खलंगाबाट चिकित्सकसहितको टोली दशेरा आउँदैछ ।
छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले मृतक परिवारलाई तत्काल किरिया खर्च २५ हजार दिने जानकारी दिए । ‘बिहेको अघिल्लो दिन त्यहाँ भएको झडपका बारेमा छानबिन गर्ने सहमति भएको छ, त्यही झडपका कारण घाइते हुनु, घाइतेलाई अस्पताल लैजाँदा दुर्घटना भएको छ, छानबिन गरेर दोषीलाई कारबाही सिफारिस गर्छौँ’, नगर प्रमुख खड्काले भने, ‘मृतकका परिवारलाई थप राहत, बेसाहारा बालबच्चाको संरक्षणका विषयमा पनि नगरपालिकाले सक्दो सहयोग गर्नेछ ।’