
बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले सङ्घीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहनेगरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले जानकारी दिए ।
उनले भने, “नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ, नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ ।” इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए । “नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो” उनले भने ।
प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन, मालपोत र नापी कार्यालय जरुरी रहेको नरैनापुर –५ का अध्यक्ष कृष्णचन्द्र मार्यले बताए । वडा नं १ का अध्यक्ष इसाक जोलहाले कार्यालय स्थापना भएमा सदरमुकामबाट ५५ किमीको दूरीमा रहेको सुइया र आसपासका सर्वसाधारण लाभान्वित हुनेछन् ।
सशस्त्र द्वन्द्वका बेला विस्थपित इलाका प्रशासन कार्यालय बीचमा केही समयका लागि स्थापना भए पनि पछि पुनः सदरमुकाममै विस्थापित भएको थियो । नागरिकताका लागि अझै पनि त्यहाँका नागरिकले दुई दिनसम्म नेपालगञ्ज बस्नुपर्ने बाध्यता छ । रासस