
कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ ।
जिल्लाका १० वटै पालिकामा गरिएको जाँचबाट आँखाका बिरामीको संख्यामा वृद्धि देखिएको हो ।
कपिलवस्तुमा १० हजार ९९७ आँखाका बिरामी देखिएका छन् ।
नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले बुधवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाका बिरामीको स्थितिको बारेमा तथ्यांक सार्वजनिक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ ।
शिवराजमा १ हजार ६७९ आँखाका बिरामी रहेका तथ्यांकमा देखाइएको छ । वाणगंगा नगरपालिकामा १ हजार ६२४, बुद्धभूमि नगरपालिकामा १ हजार ४२९, कृष्णनगर नगरपालिकामा १ हजार ३७८ र महराजगञ्ज नगरपालिकामा १ हजार २०६ आँखाका बिरामी रहेको बताइएको छ ।
जिल्लाको मायादेवी गाउँपालिकामा १ हजार ६१, शुद्धोधन गाउँपालिकामा ९९४, यशोधरा गाउँपालिकामा ८१३ र विजयनगर गाउँपालिकामा ८१३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिए ।
प्रशासक थापाले विभिन्न समयमा गरिएको जाँचबाट बिरामीको तथ्यांक प्राप्त भएको जानकारी दिए । उनले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने बताएका छन् । पालिकास्तरमा बिरामीको उपचारका लागि सहयोगको अपेक्षा गरिएको उल्लेख गरे ।
अस्पतालले पालिकाको सहयोगमा निःशुल्क उपचार गर्दै आएको छ । उनले आँखाको हेरचाह र सरसफाइ विशेष ध्यान पुर्याउन आग्रह गरेका छन् ।
नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालले स्थापनाकालदेखि हालसम्म ९ लाख ३० हजार ६२२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७०८ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । उनले बजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भइरहेको बताएका छन् ।