
टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् । सरकारले गत आइतवार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो ।
सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका हुन् । थारु कल्याणकारिणी सभा र थारुहट÷थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । धर्नामा सहभागीहरुले अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन् ।
धर्नामा उपस्थितहरुले ‘न्याय देउ, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दवाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, ‘जनताको लागि लडेको, जेलमै सड्नुपरेको’, ‘चर्चित नेता गगन, धनगढीमा के बोलेथ्यौँ भनन’ लगायतका प्लेकार्ड बोकेका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले धनगढीमा आयोजित एक कार्यक्रममा रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्नहरूलाई जेलमुक्त गरिनुपर्ने धारणा राखेका थिए । तर, अध्यादेश प्रकरणका सन्दर्भमा भने उनी विपक्षमा उभिएका छन् । उनले सरकारले अध्यादेश फिर्ता लिनुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।