
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ ।
सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रवार सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ ।
राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधा सहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सुकुटे बजारले पर्यटकीय र धार्मिक महत्त्व बोकेको उल्लेख गरे । अरनिको र भृकुटीको प्रतिमा सहितको पार्क निर्माण गर्नसके त्यसले ऐतिहासिक महत्त्वलाई समेत जीवित राख्न मद्दत पुग्ने उनको भनाइ थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगर भित्रको समग्र क्षेत्रको विकासमा आफ्नो ध्यान गएको बताए । सुकुटे बजारलाई अझै व्यवस्थित गर्दै पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने नगरपालिकाले विशेष योजना ल्याउने उनले बताए ।
बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले लगानी र सुरक्षाको वातावरण स्थानीय सरकाले बनाउने हुँदा व्यवसायीले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । पर्यटन एवं होटल व्यवसायी नारायण श्रेष्ठले पर्यटन प्रवद्र्धनको चुनौती र सम्भावनाबारे धारणा राखे ।
सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ३ वर्ष अगाडि आयोजना गरिएको सुकुटे महोत्सवबाट पारित १० बुँदे घोषणा कोरोना भाइरसका कारण कार्यान्वयनमा समस्या परेकाले आवश्यकताअनुसार ती घोषणालाई कार्यान्वयनमा लानुपर्ने छलफलको निष्कर्ष छ ।