
गत मंसिर ४ गते भएको आमनिर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ७ दशमलव २३ प्रतिशत मत बदर भएको छ । निर्वाचनमा समानुपातिकतर्फ कूल खसेको २० लाख ३४ हजार १०६ मत मध्ये १ लाख ४७ हजार २८ मत बदर भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै आयुक्त भण्डारीले समानुपातिकको तुलनामा प्रत्यक्षमा बदर मत कम भएको बताए । प्रत्यक्षतर्फ २० लख ३४ हजार ३५४ मत खसेकोमा ९१ हजार ३७७ अर्थात ४ दशमलव ४९ प्रतिशत मत बदर भएको उनले जानकारी दिए ।
मत बदर हुनुको कारण मतदाता शिक्षा मात्र नभएर मतदान केन्द्रको व्यवस्थापनमा केही कमीकमजोरी हुँदा पनि मतपत्र बदर भएको भण्डारीले बताए । ‘तर विगतको तुलनामा त्यो अनुपातमा मत बदर भएको छैन सदर नै छ’, उनले भने ।
लुम्बिनी प्रदेश सभाको निर्वाचनमा २२ वटा राजनीतिक दलको धरौटी जफत भएको आयोगले जनाएको छ । प्रदेश सभा निर्वाचन ऐन २०७४ अनुसार कुनै राजनीतिक दलले एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने कानूनी व्यवस्था छ । ऐनमा १ दशमलव ५ प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्थाअनुसार लुम्बिनी प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।
त्यसअघि संसदीय निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको परिणामसहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुखले विगतको निर्वाचन भन्दा यो पटकको निर्वाचन आफूले फरक महसुस गरेको बताए । उनले संविधान र कानूनअनुसार प्रदेश सांसदहरूको सपथ र सरकार गठनलगायतका प्रक्रिया अघि बढ्ने उल्लेख गरे ।