
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा हेटौंडा–१० राप्ती खोला किनारछेउ रहेको ल्यान्डफिल साइटमा अनुगमनका लागि पुगेकी छन् ।
लोकान्तर डट्कममा शनिवार प्रकाशित ‘पीडा बोकेर बाँचेकाहरूः छोरा विदेशमा, आमा फोहोरको डंगुरमा’ शीर्षकको समाचार पढेपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा आइतवार बिहानै अनुगमनमा गएकी हुन् ।
मेयर लामाले अनुगमनका क्रममा आर्थिक स्थिति कमजोर भएपछि स्वास्थ सुरक्षा उपकरणको प्रयोग विनै बच्चादेखि वृद्ध समेत काम गर्न बाध्य रहेकाप्रति उपमहानगरको गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले फोहोरमा काम गर्न बाध्य बालबालिकालाई पढाउन र खान–लाउन गाह्रो भएकाहरूलाई उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।
उनले गरीब, विपन्न परिवार र विद्यालय जाने उमेरका बालबच्चाहरूको विवरण उपलब्ध गराउन नगर प्रहरीलाई निर्देशन दिएकी छन् । उपमहानगरपालिका उपमेयर राजेश बानियाँले पनि उपमहानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।