
काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधनसमेत उठाएर ज्यादति गरेको छ । आइतवार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादति गरेको हो ।
निजी जग्गा क्षेत्रभित्र राखेका दुई पांग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतिविरुद्ध सवारीसाधन चालकहरू विरोधमा उत्रिएका छन् । उनीहरूले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरूमाथि ज्यादति गरेको बताए ।
स्थानीयवासी राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए । उनले अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गरे । त्यस्तै, अर्की एक सवारीसाधन चालकले महानगरपालिकाको ज्यादति आम सर्वसाधारणले कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश व्यक्त गरिन् । उनले महानगरले जे गरे पनि हुने हो भन्दै प्रश्न गरिन् ।
घटनापछि सिंहदरबार पूर्वीगेटमा सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनाभन भएको थियो । सर्वसाधारणले महानगरपालिकाले जनतामाथिको ज्यादति छोड्नुपर्ने भन्दै विरोध गरेका छन् ।