
वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रबद्र्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नेक्सन ईभीको काठमाडौं सडकमै ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौं निवासी सलिम श्रेष्ठ प्रथम भए । ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश काबरा दोश्रो हुन सफल भए । त्यसैगरी ३२१ किमि रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदीप न्यौपाने तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागीमध्ये १४ जनाले ३०० किमि रेन्जभन्दा बढी निकाल्न सकेको थिए ।
यसै कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सलिम श्रेष्ठले सम्मान पदक र प्रमाण पत्रका साथ ४३ इञ्चको सामसङ स्मार्ट एलईडी टिभी जितेका छन् ।
त्यसैगरी दोश्रो स्थानमा रहेका भरत पुडासैनी र अनिश काबराले २८ लिटरको सामसङ ओभेन जिते । तेस्रो स्थानमा रहने तृप्ति सिंह तथा उदीप न्यौपानेले सामसङ भ्याकुम क्लिनर जिते ।
विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरूका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकवर्गको दुविधालाई हटाई यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी गराए ।
यही पौष २ गते शनिबार, सिप्रदी ट्रेडिङ नैकापबाट उद्घाटन गरिएको कार्यक्रम कलंकी, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, पुतलीसडक, जमल, दरबारमार्ग, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, सुकेधारा, चाबहिल हुँदै हायात रेजेन्सी होटलमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ३४ भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो ।
इभीको उपयोग गरिदिने ग्राहकवर्गबाट मिलेको बहुपक्षीय योगदानको कदरस्वरुप कार्यक्रममार्फत उनीहरूलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका ग्राहक सेवातर्फबाट रन्धिरकुमार चौधरी तथा सिप्रदीका ग्राहक सेवा प्रमुख कुमार भण्डारीले जानकारी गराए । ईभी चलाउँदा जान्नुपर्ने विभिन्न कुराहरू छलफलसँगै दक्षिण एशियाकै पहिलो नैकापस्थित ईभी लर्निङ सेन्टरको पनि भ्रमण गराए ।
हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा टाटा नेक्सन इभी ग्राहकहरूले सबैभन्दा धेरै रुचाएको गाडी हो । नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरूको सुविधाको लागि अरु मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत इभीमा ल्याउने तयारी भइरहेको जानकारी समेत गराएको छ ।