
बिहार भारतमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लाग्दा तापक्रम चिसो बढ्ने र देशभरिको तापक्रम क्रमिकरुपले घट्दै जानेछ ।
चिसो बढ्दै जानेक्रम रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन विभागले आग्रह गरेको छ । विभागले जारी गरेको सूचनाअनुसार आज सोमबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंंशिक देखि सामान्य बदली रही एक दुई ठाउँमा हल्का वर्षा र हिमाली स्थानमा एक दुई ठाउँमा हल्का हिमपात हुनेछ ।
त्यस्तै, भोलि मंगलबार पनि देशको पहाडी भूभागमा सामान्य बदली रहने, एक दुई स्थानमा हाल्का वर्षा हुन सक्ने सभवना रहेको विभागको भनाइ छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।
सोहीअनुसार पुस ६ गते बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । ‘देशको अधिकांश भूभागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध छ’ विभागले भनेको छ ।