
युट्युबमा ‘भेलु बाजे’ नामले परिचित मीनबहादुर बुढालाई गलत प्रयोग गरेर समाजमा अश्लीलता फैलाइएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानमा उजुरी परेको छ । ‘भेलु बाजे’लाई युट्युब अन्तरवार्ताहरूमा अश्लील शब्द तथा हर्कतहरू गर्न लगाइएको र जसले गर्दा बालबालिकाको मानसिकतामा असर परेको भन्दै प्यूठानकै सुवास जिसीले सोमवार उजुरी दिएका हुन् ।
जिसीले निवेदनमा ‘भेलु बाजे’लाई मदिरा सेवन गराई मातेको अवस्थामा विभिन्न अश्लील हर्कतहरू गराउने, सामाजिक सञ्जालमा प्रस्तुत गरी फोहर–अश्लील, अपाच्य र अर्मादित शब्दहरू प्रशारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र ‘भेलु बाजे’, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिई सामाजिक अनुशासन र मर्यादा कायम गर्न माग गरिएको छ ।
जिसीले 'सामाजिक सञ्जालको माध्यमबाट छाडा शब्दहरू बोलेर/बोल्न लगाएर भाइरल हुन र बनाउने खालका अवाञ्छित गतिविधि नरोक्ने हो भने सामाजिक मूल्य-मान्यताको गम्भीर दुर्घटना हुने निश्चित रहेको' बताएका छन् ।
जिसीले ‘भेलु बाजे’ सामान्य व्यक्ति भएको, उनलाई मदिरा सेवन गर्न लगाई युट्युबरहरूले जथाभावी बोल्न लगाएको दाबी गरेका छन् । ‘उहाँको जीवन शैली र बोल्ने शैलीसमेत सामान्य गाउँलेकोजस्तो छ, उहाँलाई भाइरल गराउने नाममा गलत प्रयोग गरियो, यसले समाजमा नकारात्मक प्रभाव परिरहेकाले यो कदम चाल्न बाध्य भएको हुँ’, जिसीले लोकान्तरसँग भने, ‘पछिल्लो समय ‘काली दिदी’लगायतलाई जोडेर अझै अपाच्य गतिबिधी हुन थाल्यो । यसले प्यूठान जिल्लाकै पनि बेइजत भयो ।’
जिसीले काठमाडौंमा आफ्नो घर प्यूठान भनेर बताउँदा ‘भेलु बाजे’को देखि कता पर्छ भनेर सोधिने गरेको भन्दै दुःखेसो पोखे । ‘भेलु बाजेका कारण प्यूठानबासीहरू अश्लील हर्कत गर्ने हुँदारहेछन् भन्ने धेरैमा छाप परेको पाइयो, त्यसैले पनि प्रशासनले यस कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ’, उनले भने ।
प्यूठानको जुम्रिकाँढा घर भएका ‘भेलु बाजे’लाई युट्युबमा जथाभावी बोल्न लगाएको विभिन्न भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।
