
राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् ।
निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ ।
माघ २० गतेबाट फ्लोरमा जाने चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् ।
चलचित्रबाट लामो समयपछि द्धन्द्ध निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायाँकन गरिनेछ ।
चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।