
धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदासमेत ज्यादति गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो । तर, करिडोरका घरधनीहरूले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरूलाई बिचल्ली बनाएको गुनासो गरेका छन् ।
करिडोरमा घर भएका प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको गुनासो गरे । उनले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गाभित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादति गरेर घर भत्काएको आरोप लगाए । उनले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको बताए ।
आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दा भन्दै पनि महानगरले बल प्रयोग गरेको बताए । उनले महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताए । उनले सरकारी जग्गा नभएको जानकारी दिँदासमेत निजी घर भत्काएर महानगरले आतंक फैलाएको बताए ।
अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताए । उनले इन्जिनियरहरूले पनि फरक–फरक चिह्न दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताए । उनीहरूले महानगरपालिकाको ज्यादतिका लागि अदालत जाने बताए ।
काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरू भत्काएको हो ।