०१ असार २०८३, सोमबार

फास्ट ट्रयाक विवादः सर्वोच्चले सेनालाई भन्यो तत्काल ठेक्का सम्झौता नगर्नू

फास्ट ट्रयाक विवादः सर्वोच्चले सेनालाई भन्यो तत्काल ठेक्का सम्झौता नगर्नू

तराई मधेश द्रुतमार्गअन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता तत्काल नगर्न सर्वोच्च अदालतले नेपाली सेनाको नाममा अन्तरिम आदेश जारी गरेको छ । ठेक्का विवादबारे सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला सेनाले विवादित कम्पनीसँग ठेक्का सम्झौता गर्न लागेको भन्दै अन्तरिम आदेश दिएको हो । 

नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई गत मंसिर २६ मा चिठी पठाएर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । यसविरुद्ध परेको रिटमा सर्वोच्चले बुधवार सुनुवाई गर्दै मुद्दा विचाराधीन रहेको अवस्थामा ठेक्का–सम्झौता नगर्न सेनाका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश पुष्मालता माथेमाको इजलासले २० मंसिरमा गरेको सुनुवाइपछि २६ मंसिरमा ठेक्काका सक्कल दस्तावेज पेश गर्न आदेश दिएको थियो । सेनाले २६ मंसिरमा नै चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेर १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । 

सेनाको निर्णयविरुद्ध भारतीय  कम्पनी एफ्कोन्स इन्फ्रास्ट्रक्चर कम्पनीका तर्फबाट ५ पुसमा मुद्दा दायर भएको थियो । बुधवार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले मुद्दा विचाराधीन रहेको अवस्थामा सुविधा र सन्तुलनका हिसाबले ठेक्का सम्झौता गर्नु उपयुक्त नहुने ठहर गरेको हो ।

यसअघि आयोजना प्रमुख प्राविधिक सहायकरथी कमलविक्रम शाहद्वारा हस्ताक्षरित चलानी नम्बर १५८५३ रहेको चिठीमा चिनियाँ कम्पनीलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्न बोलाइएको थियो । चिनियाँ कम्पनीले प्रस्ताव गरेको १८ अर्ब आठ करोड ६ लाख २७ हजार ९७५ रुपैयाँमा फास्ट ट्रयाकको छैटौं प्याकेज निर्माण गर्ने प्रस्ताव गरेको छ ।

ठेक्का सम्झौतााअघि सेनाले नियमअनुसार दुई अर्ब ३१ करोड सात लाख ७६ हजार आठ सय रुपैयाँ पर्फमेन्स सेक्युरिटीका लागि बैंक ग्यारेन्टी प्रस्तुत गर्न पनि भनेको थियो । सर्वोच्चको आदेशसँगै अब यो रोक लागेको छ । सर्वोच्चले मुद्दाको पेशी शुक्रवारलाई तोकेको छ । 

छैटौं प्याकेजमा शुरुमा प्राविधिक प्रस्ताव अस्वीकृत भएको चिनियाँ कम्पनीलाई योग्य ठहर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयको विपक्षमा अन्तरिम आदेश माग गर्दै अधिवक्ता सुजन रिजालले गत ८ मंसिरमा रिट दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्