२२ जेठ २०८३, शुक्रबार

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल जारी : प्रचण्ड

तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल जारी : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँगको व्यापारिक नाका तातोपानी पूर्णरूपमा खुलाउन पहल भइरहेको बताएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ का निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा नेतृत्व टोलीको ज्ञापनपत्र बुझेपछि उनले भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिपरेको बताए । टोलीले बुधवार तातोपानी नाका खुलाउन पहल गरिदिन प्रचण्डलाई ज्ञापनपत्रसहित अनुरोध गरेको थियो ।

दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै प्रचण्डले तातोपानीका नेपाली व्यवसायी एवं नेपालको व्यापारिक दृष्टिबाट सो नाका महत्वपूर्ण रहेको स्पष्ट पारे ।

चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै उनले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए । चिनियाँ राजदूत हाउ यान्छीसँगको बिदाइ भेटमा पनि आफूले यसबारे कुराकानी गरेको र सकारात्मक जवाफ पाएको प्रचण्डको भनाइ थियो । 

भूकम्पपछिको पुनर्निर्माण भइसकेको र ड्राइपोर्ट पनि बनिसकेको अवस्थामा नाकालाई दोहोरोरूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले चीनबाट नयाँ राजदूत आएपछि आफूले थप कुरा गर्ने टोलीलाई विश्वास दिलाए । प्रचण्डले नयाँ राजदूत आएपछि दुवैतिर आवतजावत खुला हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिएको सांसद सापकोटाले जानकारी दिए ।

जुरे पहिरो, भूकम्प वा अन्य सन्दर्भमा आफू सिन्धुपाल्चोकका जनातासँग जोडिएको चर्चा गर्दै प्रचण्डले सिन्धुपाल्चोकका जनताको समस्यामा आफू अझ बढी संवेदनशील रहेको र समस्या समाधान गर्ने बताए । 

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य सापकोटाले नेपाल–चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहजरुपमा सञ्चालन र अरनिको राजमार्गको स्तरोन्नतिका लागि प्रचण्डलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । उनीसँगै ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, अमृता  नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रतिनिधि प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

निर्वाचनका बेला तातोपानी नाका पूर्णरुपमा दुईतर्फी खुलाउन आफूले उच्च नेतृत्वको ध्यानाकर्षण गराउने बताएका सापकोटाले यसको थालनी गरेका थिए । 

यसैबीच निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सञ्चालनका लागि आफ्नोतर्फबाट पहल जारी राख्ने बताए । आज भएको भेटमा प्रतिनिधि तथा प्रदेशसभाका सांसद र व्यापारीसँग उनले नाका खुलाउन आफ्नो पहल जारी रहने विश्वास दिलाए । 

salt training

कमेन्ट गर्नुहोस्