१६ असार २०८३, मंगलबार

आजदेखि नेपाल लिटरेचर फेष्टिबल, राजनीतिज्ञदेखि साहित्यकारसम्म बक्ता

आजदेखि नेपाल लिटरेचर फेष्टिबल, राजनीतिज्ञदेखि साहित्यकारसम्म बक्ता

बुधबारको छिप्पिदो साँझमा पोखराको फेवा किनार काव्यिक र सङ्गीतमय बन्यो । ‘नेपाल लिटरेचर फेस्टिबल’को पूर्वसन्ध्यामा आयोजित ‘शुभारम्भ साँझ’मा कवि नवराज पराजुली र गायक उज्ज्वल सागर प्रस्तुत भए । 

चिसो यामको पर्वाह नगरी उभिएरै पोखरेलीहरु कविता र गीतमा मुग्ध बने । गायक सागरको  ‘तिमी खुसी त छौ नि भनन’ गीतबाट शुरु भएको कार्यक्रम झण्डै डेढ घण्टा चल्यो । सागरले आफ्नै गीत ‘मधुरो लालटिन’ र ‘निःशब्द’ सुनाए ।उनले अरुण थापाको  ‘आँखाको गीत खोसी लाने’, साङ्गीतिक समूह कन्दराको चर्चित गीत  ‘तगारोमा रुमाल राखी’, नवीन के भट्टराईको  ‘अलिकति पीडा’ लगायत गीत गाए । 

सागरले गाउँदा दर्शकले पनि गला मिलाए । तालीले साथ दिए । सागरको गायनपछि पराजुलीले आफ्ना चर्चित कविता सुनाए । लामा कविता पनि कण्ठस्थ र मार्मिक शैलीमा प्रस्तुत गर्ने उनको प्रतिभाले दर्शकदीर्घाबाट वाहवाही पायो । पराजुलीले  ‘उ’,  ‘एक्लै’ लगायत आफ्ना चर्चित कविता वाचन गरे । 

आयोजक बुकवर्म फाउण्डेशनले फेस्टिबलको औपचारिक उद्घाटनपूर्व  ‘शुभारम्भ साँझ’ राखेको हो । उक्त कार्यक्रममा पहिला पुग्ने दश जनालाई पराजुलीको कविता कृति  ‘सगरमाथाको गहिराइ’ उपहारस्वरुप प्रदान गरिएको थियो ।

दसौँ संस्करणको उक्त फेस्टिबल बुधबारदेखि नै शुरु भए पनि औपचारिक उद्घाटन भने आज दिउँसो हुने आयोजकले जनाएको छ । उद्घाटन सँगसँगै काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले विद्वत् प्रवचन, गोपाल योञ्जनको २५औँ स्मृति वर्षको अवसर पारेर साङ्गीतिक प्रस्तुति  ‘गोपालय’ र ‘घरबाट स्कुलसम्म’ शीर्षकमा छलफलसत्र तय गरिएको छ ।

फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिबलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने बताइएको छ । 

फेस्टिबलमा कला, साहित्य, सङ्गीत, राजनीति, अर्थतन्त्र, खेलकुदलगायत विषयमा बहस र अन्तरसंवाद हुनेछ । पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्वत् व्यक्ति वक्ताका रुपमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

फेस्टिबलमा श्रीलङ्काका लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुललगायत सहभागी हुँदैछन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइरालासहित विशिष्ट व्यक्ति वक्ताका रुपमा उपस्थित हुनेछन् ।

पत्रकार एवं लेखक विजयकुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्कालगायतले विधागत छलफल सत्रमा भाग लिनेछन् । फेस्टिबलका सदस्य केशवशरण लामिछानेले अतिथि वक्ता र सहभागी पोखरा आउने क्रम शुरु भएको बताए । 

दश वर्षअघि काठमाडौँबाट शुरु भएको उक्त फेस्टिबल पछिल्ला केही वर्षदेखि पर्यटकीय शहर पोखरामा हुँदैआएको छ । कोभिड–१९ का कारण फेस्टिबलको यसअघिको संस्करण रोकिएको थियो । फेस्टिबलमा कला, साहित्यप्रेमीदेखि समसामयिक र सार्वजनिक महत्वका विषयमाथि हुने बहस सुन्न चाहनेको उल्लेख्य उपस्थिति रहने गर्छ । फेस्टिबलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवर्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्