२४ जेठ २०८३, आइतबार
राजनीति

दलहरूसँग हामी आफैँ छलफलमा गएका होइनौँ : रवि लामिछाने

दलहरूसँग हामी आफैँ छलफलमा गएका होइनौँ : रवि लामिछाने
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला राजनीतिक दलहरूले बोलाएकैले छलफलका लागि गएको बताएका छन् । सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक विषयवस्तुमा छलफलका लागि बोलाएकाले भेटघाट गर्न गएको बताएका हुन् । 

पत्रकारहरूले सरकार गठनका लागि ठूला दलले महत्व नदिएको बरु आफैँले गएर भेट्नु परिरहेको भनी गरेको प्रश्नमा उनले भने, ‘हामी आफैँ गएका होइनौँ । म आफैँ गएको होइन, छलफल गरौँ भनेर दलहरूले भनेकाले छलफल गरेका हौँ ।’ 

उनले आफूहरू सरकारमा सहभागी हुन इच्छुक नभएको पनि बताएका छन् । ‘हामीले पाएको मत सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने मत होइन । तर, हाम्रो उपस्थितिले केही फरक पार्नसक्छ, हाम्रो एजेण्डा सम्बोधन हुन्छ भने हामी सरकारमा सहभागी हुनसक्छौँ’, रविले भने ।

उनले आफूहरू सत्ता गठबन्धन र प्रतिपक्ष एमालेसँग समदूरीमा रहेको पनि बताए । ‘हामी कोहीसँग पनि नजिक र कोहीसँग पनि टाढा छैनौँ । हाम्रो मुद्दा जसले सम्बोधन गर्छ उहीसँग नजिक हुन्छौँ’, उनले भने । 

रविले सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिने, विदेशमा रहेका नेपालीहरूले भोट हाल्ने पाउने, उनीहरूको सामाजिक र राजनीति अधिकार सुनिश्चित हुने, ठेक्कपट्टामा भएको अनियमितता रोक्ने, आम नागरिकहरुले सरकारी कार्यालयबाट चुस्त सेवा पाउनेलगायतका आफूहरूका माग सम्बोधन भएमा सरकारमा सहभागी हुनसक्ने प्रष्ट पारे । 

उनले नागरिकताका विषयमा आफूमाथि उठेका प्रश्नमा सरकार र सम्बन्धित निकाय सबैलाई छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्