११ असार २०८३, बिहीबार

नेपाल लिटरेचर फेस्टिभल : दशौँ संस्करण पोखरामा शुरु

नेपाल लिटरेचर फेस्टिभल : दशौँ संस्करण पोखरामा शुरु

नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराहीघाटमा शुरु भएको छ । करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन भव्य उदघाटन भएको छ । काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले पहिलो दिन विद्वत्प्रवचन दिएर सबैलाई उत्साहित बनाए ।

’नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक सामाजिक नेतृत्वले लिनुपर्ने बाटाहरुबारे चर्चा गरेका थिए । “अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ने उनलेब ताए । 

“संसार जुन गतिमा अगाडि बढिरहेको छ, त्यसको तुलनामा हामी धेरै सुस्त छौँ । नेपाललाई बराबरीको हैसियतमा उभ्याउन कुनै पनि मुलुक कुरेर बस्ने छैन, हामी आफै उनीहरूलाई भेट्टाउन दोहोरो गतिमा दौडिन सक्नुपर्छ“ उनले भने । 

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राख्दै अतिथि एवम् सहभागीहरूलाई स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए । “सन् २०११ मा शुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको छ । यसक्रममा सहयोग गर्ने सबैप्रति म आभारी छु । वर्ष बित्दै जाँदा यस फेस्टिभलको महत्व पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महशुस हुन्छ“ उनले भनेका थिए ।

नीरज भारीले इङ्गित गरेको साथ तथा सहयोगप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए । सधैँ साथ दिन तयार रहेको उनको भनाइ थियो । “पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ । यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्छ,“ आचार्यले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्वबारे चर्चा गरे । गण्डकीको भाषा, संस्कृतिको प्रवर्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुति समेत भएको थियो । कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरेका थिए । त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाएका थिए । सो अवसरमा गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत लोकार्पण गरिएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्