
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका सामुदायिक विद्यालयले दिवा खाजामा विद्यालयकै करेसाबारीमा उत्पादन भएका तरकारीको प्रयोग गर्ने गरेका छन् ।
नगरभित्र रहेका सामुदायिक विद्यालयमध्ये आफ्नै जमिन भएका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका जैविक तरकारीको प्रयोग बढाएका हुन् ।
कावासोती–१ मा अवस्थित महाराजा आधारभूत विद्यालयले नगरपालिकाको सहयोगमा करीब २ कट्ठामा तरकारी खेती गरेको प्रधानाध्यापक बिमला श्रेष्ठले बताइन् । विद्यार्थीको प्रयास तथा शिक्षकको निगरानीमा उत्पादन गरिएको तरकारी नै दिवा खाजामा प्रयोग हुने उनले बताइन् ।
गत वर्ष करेसाबारीमा उत्पादित तरकारी दिवा खाजामा प्रयोग गरी बाँकी रहेको तरकारी बिक्रीबाट विद्यालयले ४ हजार ५०० रुपैयाँको बिक्री गरेको उनले बताइन् । तरकारी बिक्रीको रकम कोषमा जम्मा गरिएको छ ।
करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवा खाजालाई सहयोग पुर्याएको र विद्यार्थीलाई जैविक तरकारी खेतीको महत्त्व बुझाइएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
करेसाबारी कार्यक्रमबाट ५ कक्षामा पढ्ने युवराज थापा र मनिसा सिञ्जालीले घरमा समेत विद्यालयबाट सिकेको सीप घरमा प्रयोग गरेको उनले जानकारी दिइन् ।
कावासोती–३ मै रहेको अर्को विद्यालय जीवनज्योति माविले पनि करीब डेढकट्ठा क्षेत्रफलमा गत वर्षबाट करेसाबारी बनाएर तरकारी खेती शुरू गरेको थियो । गत वर्ष उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गरेर करीब १२ हजार रुपैयाँको तरकारी बिक्री गर्न सफल भएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा लम्सालले बताइन् ।
करेसाबारी निर्माण तथा तरकारी खेतीमा विद्यार्थी नै सक्रियपूर्वक सहभागी हुने गरेको र यसले विद्यार्थीलाई माटो तथा श्रमसँग जोड्न सफल भएको उनको भनाइ छ ।
नगरपालिकाको शिक्षा शाखाले विद्यालयबाट प्रस्ताव मागअनुसार स्वीकृत भएका विद्यालयलाई बिउ पुँजीका रूपमा २५ हजार रुपैयाँ अनुदान दिने गरिएको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए ।
नगरपालिकाले पहिलो वर्ष २ विद्यालय र दोस्रो वर्ष ८ विद्यालयमा कार्यक्रम शुरू गरेको छ । यस वर्ष १० विद्यालयमा कार्यक्रममा सञ्चालन हुने पाण्डेले बताए ।
प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन शुरू गरेका उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र र नगरपालिकाको कृषि शाखाको प्राविधिक सहयोगमा विद्यालयमा करेसाबारी निर्माणलाई अगाडि बढाइएको हो । कृषि प्राविधिकले विद्यालयमै पुगेर शिक्षक र विद्यार्थीेलाई करेसाबारी निर्माणमा सहयोग गर्ने गरेको अधिकृत पाण्डेले बताए ।
जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकामा सञ्चालन भएको विद्यालयमा करेसाबारी कार्यक्रमले शिक्षक र विद्यार्थीलाई अध्ययनसँगै श्रमसँग जोड्न सफल भएको छ ।
विद्यालयमा खुवाइने दिवा खाजामा आफैंले उत्पादन गरेको जैविक तरकारी प्रयोग हुँदा खाजाको गुणस्तरमा समेत वृद्धि भएको सरोकारवाला बताउँछन् । नगरपालिकाभित्र ४० सामुदायिक विद्यालय छन् ।