
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका कुख्यात सिरियल किलर चार्ल्स शोभराज अध्यागमन विभागको हिरासतमा छन् ।
फ्रान्सेली नागरिक शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गर्नका लागि केन्द्रीय कारागारबाट सिधै अध्यागमन विभागमा लगिएको हो ।
अध्यागमनले कानूनी र कागजी प्रक्रिया पूरा गरेको छ । उनलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।
विभागले उनलाई फ्रान्स डिपोर्ट गर्नका लागि फ्रान्सेली दूतावासबाट ट्राभल डकुमेन्ट र पासपोर्ट ल्याउन भनेको थियो । उनका वकिलहरूले हिजै कानूनी प्रक्रिया पूरा गराएका थिए ।
शोभराज अध्यागमन विभाग छिरेको १ घण्टामै कतार ट्रान्जिट भएर फ्रान्स पुग्ने टिकटको पनि व्यवस्था भइसकेको थियो ।
उनलाई आजै साँझ ६ बजे डिपोर्ट गर्ने तयारी छ ।
शोभराजले अध्यागमनमा जरिवानाबातपतको नेपाली रुपैयाँ ५० हजार समेत बुझाएका छन् । अन्य आर्थिक दायित्व र जरिवाना फरफारक गरेर उनी आफ्नो देश फर्काइँदैछन् ।
‘आई कान्ट पुटआउट माइ क्याप एन्ड ग्लासेज’
केन्द्रीय कारागारबाट चार्ल्स शोभराजलाई प्रहरीले मध्याह्न १२ः४० मा अध्यागमन विभागमा ल्याएको थियो ।
निकै सुरक्षा सावधानी अपनाएर शोभराजलाई अध्यागमन पुर्याउन २ वटा गाडी प्रयोग गरिएको थियो ।
पत्रकार र अन्यलाई सुइँको नदिन डमी अपराधीको प्रयोग समेत गरिएको थियो । अर्कै व्यक्ति (डमी अपराधी) देखाएर ध्यान भंग गरी शोभराजलाई सुटुक्क अध्यागमनमा प्रवेश गराइएको हो ।
भित्र लगेपछि कानून शाखामा प्रक्रिया पूरा गर्न करीब ४५ मिनेट लाग्यो । त्यसपछि विभागकी निर्देशक प्रदर्शनी कुमारीको कार्यकक्षमा लगेर बाँकी प्रक्रिया पूरा गरियो ।

फोटो खिच्नका लागि आग्रह गर्दा शुरूमा शोभराजले मानेनन् । तर दूतावासमा आवश्यक परेको भन्दै विभागका कर्मचारीले बारम्बार आग्रह गरेपछि उनी फोटो खिच्न तयार भए ।
उनले फाइबरको निलो ज्याकेट, सिग्नेचर टोपी र चस्मा लगाएका थिए । दूतावासले विनाटोपी र विनाचस्माको फोटो पठाउन भनेको थियो । तर, उनले टोपी र चस्मा खोल्न मानेनन् ।
शोभराजले ‘आई कान्ट पुटआउट माइ क्याप एन्ड ग्लासेज । इट्स माइ सिग्नेचर (क्याप)’ भनेपछि अध्यागमनका कर्मचारी केहीबेर अन्योलमा परे ।
कर्मचारीले केहीबेर सम्झाएपछि बल्ल उनी टोपी र चस्मा निकाल्न तयार भए । प्रहरीको कडा सुरक्षाबीच फोटो खिचियो ।
अध्यागमनमा तिर्नुपर्ने ५० हजार रुपैयाँका लागि उनले फ्रान्सको नम्बरमा एक महिलालाई फोन गरे ।
शुरूमा फ्रान्सेली भाषामा नै कुरा गरेका थिए । अन्तिममा उताबाट अंग्रेजी भाषामा जवाफ आयो– ‘आई विल पे विदिन थर्टी मिनेट्स’ ।
उनले अध्यागमनमा रहँदा निकिता विश्वासको नाम पनि लिए ।
शोभराजको कानून व्यवसायी समेत रहेकी निकिता उनको प्रेमिका भनेर चर्चामा आएकी युवती हुन् ।
अधिकांश समय शान्त नै रहेका शोभराज बेलाबेलामा भने झोक्किएका थिए ।
प्रहरी र शोभराजका वकिलबीच चर्काचर्की
नेपाल प्रहरीका २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र केही प्रहरी कर्मचारीको कडा निगरानीमा शोभराजलाई ल्याइएको थियो ।
यति कडा सुरक्षा थियो कि प्रहरीले त्यहाँ रहेका कर्मचारी र काम परेर पुगेका अन्य सेवाग्राहीलाई मोबाइल निकाल्न समेत दिएको थिएन ।
त्यसक्रममा केहीबेर प्रहरी र शोभराजका वकिलबीच नोकझोक चल्यो ।
शोभराजका वकिल पहिलो तल्लामा रहेको निर्देशकको कार्यकक्षमा छिर्न खोज्दा प्रहरीले रोक्यो । ती व्यक्तिले आफू शोभराजको वकिल भएकाले भित्र जान दिन आग्रह गरे ।
प्रहरी अधिकृतले जवाफ फर्काए– अहिले तपाईंको काम छैन, बाहिर जान सक्नुहुन्छ ।’
ती वकिल आनाकानी गर्दै थिए ।
प्रहरीका ती अधिकृतले फेरि भने, ‘जानुस्, तपाईंको यहाँ काम नै छैन ।’
ती वकिल झोक्किए । एकछिन चर्काचर्की नै पर्यो ।
अध्यागमनका कर्मचारी केहीबेर अलमलमा परे ।
पछि दुवैजना संयमित भएपछि काम अगाडि बढ्यो ।

कुख्यात अपराधी चार्ल्स शोभराज १९ वर्ष ३ महिना नेपालको जेलमा बसेर छुटेका हुन् । २०३२ सालमा पहिलोपटक नेपाल आउँदा उनले अमेरिकी र क्यानेडियन नागरिकको हत्या गरेका थिए ।
त्यतिबेला प्रहरीलाई छक्याएर भाग्न सफल भए पनि २०६० सालमा नेपाल आउँदा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएपछि उनले झण्डै २ दशक लामो जेलजीवन बिताएका छन् ।
ज्येष्ठ नागरिकले पाउने कैद छूट र स्वास्थ्य अवस्थाका कारण सर्वोच्चले उनलाई रिहा गरेर फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो ।
उनको रिटमा बुधवार नै फैसला भए पनि शुक्रवार मात्र रिहा गरिएको हो ।