
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बालुवाटारस्थित सरकारी निवास तथा प्रधानमन्त्री कार्यालयमा आफ्ना लागि महंगा र विलासिताका सामान नकिन्न निर्देशन दिएका छन् ।
प्रचण्डले आफ्नो स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री कार्यालय तथा निवास व्यवस्थापनको जिम्मेवारी पाएको निकायलाई उक्त निर्देशन दिएका हुन् ।
'बालुवाटार (प्रधानमन्त्रीको सरकारी निवास) र सिंहदरबारस्थित कार्यालयमा कुनै पनि नयाँ तथा भड्किला सामान खरिद नगर्न सचिवालयमार्फत प्रधानमन्त्री कार्यालय तथा निवास व्यवस्थापन शाखालाई निर्देशन दिइएको छ,' खुमलटार स्रोतले लोकान्तरसँग भन्यो ।
तेस्रो कार्यकालका लागि सिंहदरबार तथा बालुवाटार प्रवेश गर्ने तयारीमा रहेका प्रचण्डले आज अपराह्न ४ बजे प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
आफ्नो कार्यकालयको शुरूआत नै मितव्ययी बनाउन भन्दै प्रचण्डले उक्त निर्देशन दिएको स्रोतको दाबी छ ।