३१ असार २०८३, बुधबार

पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता
फाइल तस्वीर

सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि शुरु हुन सकेको छैन । भेरी करिडोरअन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएपनि अझै काम शुरु नसकेको हो ।

नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्डअन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझै काम शुरु नगरेको सडक डिभिजन कार्यालय चौहरजहारीका इञ्जिनियर दिलीप यादवले गुनासो गरे ।

‘दुई पटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मंगलवार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ’, इञ्जिनियर यादवले भने । ‘सम्झौता भएलगत्तै काम शुरु गर्ने भनेर रु ५५ लाख पेश्की रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो’, उनले थपे ।

आयोजनामा कूल लागत रु १३ करोड ४१ लाख खर्च हुनेछ । सडकखण्ड दुनै–ल्यासीक्याप सडकखण्ड काइके,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सिमामा पर्ने मोरिम्ला नाका पुग्नेछ ।

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले काम छिटो शुरु गर्न भन्दै गत मंसिर २८ मा पत्र लेखेको छ । पत्रमा सम्झौता भएको महिनौँ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम शुरु गराउन अनुरोध गरिएको थियो । 

सडक खण्डको काम शुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए । 

तत्कालै काम शुरु गछौँ : निर्माण कम्पनी

श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम शुरु गर्ने दाबी गरेका छन् । सम्झौता भएलगत्तै काम शुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरे पनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको उनको जिकिर छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्