०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ ।
नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् ।
त्यसपछि फिल्मको प्रदर्शन मिति तोकियो – ०७९ को वडादशैं । यद्यपि, दशैँमा प्रदर्शनमा आउने फिल्मको संख्या धेरै देखियो । फिल्महरूको भीडभाडमा ‘परदेशी २’ प्रदर्शनमा आउन चाहेन । फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेर फिल्मको प्रचार–प्रसार अगाडि बढाइयो ।
अन्ततः फागुनमा पनि यो फिल्म प्रदर्शनमा नआउने देखिएको छ । केही दृश्यहरू पुनः छायाँकन गर्ने र फिल्म आगामी वर्ष मात्रै रिलिज गर्ने सोच निर्माण टिमले बनाएको छ । स्रोतका अनुसार आगामी वर्षको तीज अर्थात् दशैँमा फिल्म प्रदर्शनमा ल्याउनेगरी छलफल गरिएको छ ।
‘चित्त नबुझेको पार्टहरु पुनः सुटिङ गर्ने र रिलिज फागुनबाट पछि सार्ने कि भन्ने छलफल भएको छ’ टिमभित्रका एक सदस्यले भने, –‘तर निर्णयमै पुगिसकेको चाहिँ होइन ।’
‘परदेशी २’मा प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका रहेको छ ।
लोकप्रिय गायक प्रकाश सपूतको यो डेब्यू फिल्म हो । नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर फिल्मको निर्माण गरेका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको कथा रहेको फिल्ममा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ ।
अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्मले पेश गर्छ । पोष्टर, टिजरसहित फिल्मको एउटा गीत समेत यसअघि सार्वजनिक भइसकेको छ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट फिल्म दिएको ब्यानर, हिट फिल्मको सिरिज, प्रकाशको डेब्यू फिल्म, स्टार कलाकारहरूको अभिनय लगायतका कारण निर्माण घोषणादेखि नै ‘परदेशी २’लाई प्रतीक्षित मानिएको थियो ।