०६ असार २०८३, शनिबार
मूलधार

प्रचण्ड : पहिचानको राजनीतिदेखि दौरा-सुरुवालसम्म

पुस १३, २०७९
प्रचण्ड : पहिचानको राजनीतिदेखि दौरा-सुरुवालसम्म

‘राष्ट्रिय पोशाक’ ! मूलतः पुरुषका लागि दौरा–सुरुवाल, कोट, कालो भादगाउँले टोपी । महिलाका लागि साडी–चोलो, पटुका २०६८ सालसम्म ‘राष्ट्रिय पोशाक’कै मान्यतामा थियो ।

माओवादीले आफ्नो ‘एजेन्डा’ स्थापित गर्न यस्तो भाष्य निर्माण गर्‍यो– ‘दौरा–सुरुवाल, कोट, भादगाउँले कालो टोपी, साडी–चोलो पहिरिने सबै एकात्मक राज्य, सामन्ती, महेन्द्रीय राष्ट्रवादका प्रतिनिधि हुन् ।’

विक्रम संवत् १६८० को दशकमा सिद्धिनरसिंह मल्लको एउटा रेखाचित्र छ, जुन रेखाचित्रमा तुना बाँधेको पोशाक पहिरिएको देखिन्छ । त्यसपछिका कैयन मल्लकालीन मूर्तिमा सिद्धिनरसिंहको पोशाककै ढाँचा देखिन्छ । यो रेखाचित्र र मूर्तिहरूको ढाँचा हेर्दा स्वयं पृथ्वीनारायण शाहको शालिकमा त झन् पूरै दौरा–सुरुवाल नै प्रस्ट देखिन्छ ।

व्यवहारमा हेर्दा हिमालपारी थाक सात सय थालो उसै त जाडो हो तर त्यहाँका रैथाने थकाली, उपत्यकाभित्रका नेवार, उपत्यकावरपर छरिएका तामाङ, ताप्लेजुङ, भोजपुर, पाँचथर, खोटाङका लिम्बू, राई, सुनुवार सुदूरपश्चिम, कर्णालीका ठकुरी, क्षेत्री, ब्राह्मण, दलित सबैले दौरा–सुरुवाल परापूर्वदेखि लगाउँदै आएका छन् ।

मध्यपहाडी छेउछाउका मगर, गुरुङले कछाड, भाङ्ग्रा लगाउने चलन छ । भेषभुषा, भाषा यस्तो हो, जुन समुदायको बाहुल्यता जहाँ छ उसैको प्रभाव त्यहाँ देखिन्छ ।

पूर्वी पाल्पामा क्षेत्री, बाहुन, दलित सबैले बाह्र मगरात भाषा बोल्छन् । कास्की, पर्वत, बागलुङमा मगर, गुरुङले लगाउने कछाड, भाङ्ग्रा सबै समुदायले लगाएको जो कोहीले देख्न सक्छ । हिमाली क्षेत्रमा बस्ने शेर्पा, लामा लगायत समुदायले जाडोको कारण बख्खु लगाउनु स्वाभाविक हो । महेन्द्र राजमार्ग दक्षिणतर्फ तराई/मधेशमा बसोबास गर्ने समुदायले धोती, कुर्ता लगाउँछन् ।

‘हाम्रो राजा हाम्रो देशः एउटै भाषा, एउटै भेष’ जस्ता पञ्चायतकालीन नाराको जगमा माओवादीले पहिचानको नारा स्थापित गर्न राष्ट्रिय पोशाक खारेज गर्‍यो । २०६८ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले दौरा–सुरुवाल, साडी–चोलो ‘राष्ट्रिय पोशाक’लाई खारेज गर्‍यो ।

२०६३ साउन पहिलो साता नेपाल आदिवासी/जनजाति महासंघ अगुवासँग प्रचण्ड, बाबुरामसहितकाे टाेलीले छलफल गर्‍यो । नयाँ बसपार्ककाे एक हाेटलमा छलफल भएकाे थियो । डा. ओम गुरुङकाे नेतृत्वमा डा. हर्क गुरुङ समेत जनजातिका अगुवा छलफलमा सामेल थिए । डा. हर्कले आफ्नो हक्की शैलीमा प्रचण्डलाई भनेका थिए, 'हातहतियार त बिसायाै प्रचण्ड ! पहिचानका लागि उठाएका हतियार बिसाउनु तिमीहरूलाई नयाँ चुनाैती हाे ।'

आदिवासी जनजाति, मधेशी समुदाय पनि सरकारको निर्णयमा सहमत भए । आ–आफ्नो समुदायको परम्परागत पोशाकलाई राष्ट्रिय पोशाक मान्ने निर्णय सरकारले गर्‍यो । अहिले पनि औपचारिक समारोहका निमन्त्रणामा औपचारिक पोशाक या आफ्नो समुदायको पहिचान झल्किने पोशाक हुनुपर्ने भनी पत्रमा उल्लेख गरिएको हुन्छ ।

बाबुरामको नेतृत्वकालमै यतिसम्म भयो कि नेपालको झण्डा परिवर्तन गर्ने बहससम्म चल्यो । सनातनी, हिन्दू एकाधिकारवादीको वास्तुका आधारमा झण्डा बनाइएकाले ‘नयाँ नेपालमा नयाँ झण्डा’ हुनुपर्छ भन्ने तर्क माओवादीकै अगुवाइमा आदिवासी जनजाति र अन्य अभियन्ताले समेत बहस चलाए । भलै त्यो बहसले सार्थकता पाएन तर एउटा सत्य के हो भने डोरबहादुर विष्टले अघि सारेको नेपालको विकास नहुनुमा मुख्य कारक ‘बाहुन/क्षेत्रीहरूद्वारा राज्य सञ्चालनमा ल्याएको ‘बाहुनवादी’ आस्था र प्रथा हो’ भन्ने बहसको थप विश्लेषण नहुनु ।

डा. कृष्ण भट्टचनले ‘समावेशी लोकतन्त्रका आधारहरू’मा आफ्नो दलिल पेश गर्दै लेखेका छन्, ‘ब्राह्मणवाद एक जात, एक भाषा, एक धर्म, एक क्षेत्र, एक संस्कृति र एक लिङ्गले अन्य माथि दमन गर्ने सिद्धान्त र व्यवहार हो ।’ अन्ततः पहिचानको कति आवश्यक छ भन्ने विषय यसपटक नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दौरा–सुरुवालको तुनाले थप पुष्टि गरेको छ ।

‘राष्ट्रिय पोशाक’ र माओवादीको व्यवहार

माओवादी सशस्त्र संघर्षको सूत्रधार मध्येका बाहिरी बौद्धिक समाजमा गिने–चुनेका नेता हुन् डा. बाबुराम भट्टराई । उनको मार्क्सवादी बौद्धिकतामाथि प्रश्न गर्न त नमिल्ला तर व्यवहारमा ‘हिन्दूवादी’ । उनले पटक–पटक भन्ने गरेका छन्, ‘म मार्क्सवादी नभएको भए, पूर्वीय दर्शनको अध्ययता हुने थिएँ । भलै ‘राजनीतिक वैकल्पिक शक्ति’ निर्माण गर्ने ध्ययेले मार्क्सवादको अध्याय समापन भएको निष्कर्षमा छन् । यद्यपि अहिले ‘प्रचण्ड’सँग नजिकिँदै छन् । पुनः मार्क्सवादी बन्न मन खुलेको छैन ।

२०६० वैशाख १७ गते गोरखामा माओवादीको सभा थियो । माओवादी शान्ति वार्ता टोली भट्टराईको नेतृत्वमा थियो । बिहानै काठमाडौंबाट गोरखा आमसभामा हिँडियो । भट्टराईसँग पंक्तिकार सँगै थियो । उनले मनकामना केबुलकार चढ्ने बताए । भट्टराईको तर्क थियो, ‘केबुलकारको विकास हेर्न मन लागेर !’ तर उनको अन्तर्य बुवा–आमालाई मनकामना माईको दर्शन गराउनु थियो । आमाले पंक्तिकारसँग भनेकी थिइन्, ‘पहिले काशी तीर्थ लाने पनि यही जेठो छोरो हो ।’ 

मनकामना मन्दिरको परिसरमा भट्टराईका बुवाआमासँग खिचिएको तस्वीर र समाचार कान्तिपुर दैनिकमा छापियो । त्यसले लामै बहस सिर्जना गर्‍यो । आफ्नो त्यो तस्वीर र समाचारको बहसबारे उनले साउन ३० गते दाङको हापुरे वार्तास्थलमा समेत चर्चा गरेका थिए ।

दोस्रो उदाहरण शान्ति प्रक्रियामा आएपछि दशैं र तिहार उल्लासमय रूपमा मनाए । सशस्त्र संघर्षको १० वर्षमा आफ्ना कार्यकर्तालाई यी चाडपर्व हिन्दूवादी परम्परा भनिएको थियो । मुख्यगरी आदिवासी जनजाति समुदायमा यसको प्रचार बढी भयो तर उनले त्यही काम गरिरहे । २०५८ जेठ १९ गते राजा वीरन्द्रको वंश नासपछि कान्तिपुरमा भट्टराईले लेखे, ‘नयाँ कोत पर्वलाई मान्यता दिनु हुँदैन ।’ त्यहाँ पृथ्वीनारायण शाह राष्ट्रवादी थिए भन्ने उनको निष्कर्ष थियो ।

तर उनैको पार्टीको जातीय मोर्चाका नेता सुरेश आले मगरहरू आदिवासी जनजातिको राष्ट्रियता समाप्त पार्ने पृथ्वीनारायणको एकीकरण अभियान एकात्मक राज्य हो भन्ने अडानमा थिए ।

यी सन्दर्भहरू केलाइरहँदा माओवादीले लिएका रणनीति बिस्तारै किन स्खलित हुँदै गएका छन् भन्ने धेरै टाढा जानु पर्दैन । २०६८ सालमा आफैंले दौरा–सुरुवाललाई राष्ट्रिय पोशाक नभएको घोषणा गरे तर उनैले २०७५ माघमा पूर्व मेलुङ्गदेखि पश्चिम झुलाघाटसम्म ‘भ्रष्ट्राचारविरुद्ध अभियान’ चलाए । सोही अभियानमा कर्णाली प्रदेश प्रवेश गर्दा दौरा–सुरुवाल लगाए ।

दौरा-सुरुवालमा बाबुराम

पहिलो संविधानसभा विघटन नहुँदासम्म बाबुराम र प्रचण्डले ११–१४ सम्म जातीय, भाषिक र क्षेत्रीय प्रदेशहरू घोषणा गर्दै हिँडे ।

मगरात, ताम्सालिङ, किरात, नेवाः, शेर्पा, कोचिला, मिथिला, अवध, खसान, थरुहट लगायत घोषणा गर्दै जातीय क्षेत्रीय पोशाक लगाएर राज्य बाँडे । त्यहीबेला आदिवासी जनजातिको नाममा आङकाजी शेर्पा लगायतले जातीय सद्भावमा खलल पुग्ने गरी खुलामञ्चबाट ‘जातीय प्रतिशोधी’ भाषण गरे । पहिचानकै नाममा एमालेबाट अशोक राईहरू समेत बाहिरिए ।

माओवादीले जातिवादी मनभावनाका नेताहरूलाई कसरी बोकेको थियो भन्ने एउटा उदाहरण गोपाल किराँती हुन्, जो अहिले प्रचण्डलाई छाडेर बसेका छन् ।

दोस्रो शान्ति वार्ता टोली २०५९ चैत २० खुलामञ्चमा सम्बोधन गरिसकेको थियो । २०६० वैशाख दोस्रो हप्ता भोजपुरबाट शाहीमान राई आए कान्तिपुरको कार्यालयमा । उनले गोपाल किराँती काठमाडौंमा आइपुगेको सुनाए । पूर्वमा जातीय आन्दोलनका लागि ‘सशस्त्र दस्ता’ गठन गर्ने, किराँत वर्कर्स पार्टी गठन, विभाजन, अन्तिममा माओवादीसँग एकता लगायत विषयमा किराँतीलाई भेट्न इच्छा पहिल्यै थियो ।

भेटमा किराँतीले भोजपुरको संस्कृत विद्यालयमा बम आक्रमण किन गरियो भन्ने सन्दर्भ सुनाए । उनीहरू काठमाडौंमा जातीय मोर्चा खोल्ने भनेर तयार भएछन् । उनले किराँत, एचबी खाम (हितबहादुर खाम)ले मगराँत, दिलबहादुर छन्त्याल (धवलबहादुर छन्त्याल) छन्त्याल मोर्चा खोल्ने गरी छुटेका रहेछन् । संयोगले त्यो बेला एचबी खामले कान्तिपुरमा अंग्रेजी अनलाइन संस्करणमा काम गर्थे ।

‘हाम्रो भाषा, संस्कृतिलाई मास्ने । बाहुनहरूले उनीहरूको भाषालाई प्रवर्द्धन गर्न विश्व विद्यालय खोल्ने । संस्कृत भाषालाई प्रवर्द्धनका लागि खोलिएका विद्यालय, विश्वविद्यालयलाई ध्वस्त पारेर नयाँ सन्देश दिने भनेर एचबीले दाङको संस्कृत विश्वविद्यालय हान्ने, हामीले भोजपुर हान्ने भनेका थियौं । हामीले भोजपुरमा हान्यौं । एचबीले त दाङमा मरिगए हान्दैन । रेडियोमा समाचार आउला दाङ हानेको भनेर सुनेको सुन्यै भइयो । उसले हान्दै हानेन ।’

माओवादीले गिजोलेको अर्को जटिल मुद्दा मधेश हो । उनले पहिले सशस्त्र गतिविधिमा संलग्न जयकृष्ण गोइतसँग साँठगाँठ गरे । पछि गैरसरकारी संस्थाको रूपमा रहेको मधेशी जनअधिकार फोरमलाई प्रयोग गर्दा उपेन्द्र यादवहरूसँग सहकार्य गरे । वर्ग, क्षेत्रको सही विश्लेषण नहुँदाको परिणाम माओवादीले रौतहट काण्ड व्यहोर्नुपर्‍यो । त्यो घटना सिर्जना हुनुमा मुख्य ३ पात्र मात्रिका यादव, प्रभू साह, उपेन्द्र यादव नै थिए । प्रचण्ड यी तीनै पात्रसँग कहिले नजिक, कहिले बिछोडको सम्बन्धमा निरन्तर रहेका छन् ।

शेर्पा पोशाकमा प्रचण्ड

अनि माओवादीमा दौरा–सुरुवालको लहर

२०६३ साउन पहिलो साता नेपाल आदिवासी/जनजाति महासंघ अगुवासँग प्रचण्ड, बाबुरामसहितकाे टाेलीले छलफल गर्‍यो । नयाँ बसपार्ककाे एक हाेटलमा छलफल भएकाे थियो । डा. ओम गुरुङकाे नेतृत्वमा डा. हर्क गुरुङ समेत जनजातिका अगुवा छलफलमा सामेल थिए । डा. हर्कले आफ्नो हक्की शैलीमा प्रचण्डलाई भनेका थिए, 'हातहतियार त बिसायाै प्रचण्ड ! पहिचानका लागि उठाएका हतियार बिसाउनु तिमीहरूलाई नयाँ चुनाैती हाे ।'

२०६८ सालमा माओवादीसहितका पहिचानवादीहरूले आन्दोलन चर्काए । सोही क्रममा त्यसको काउन्टरमा ठाउँठाउँमा क्षेत्री समाज समेत गठन गरियो । २०६७ सालमा पहिलोपटक त्यसबेलाका माओवादी केन्द्रीय नेता टोपबहादुर रायमाझीले आफ्नो पहिचान भन्दै दौरा–सुरुवाल लगाए । त्यो बेला केही माओवादीले आलोचना गरेका थिए । 

यही पहिचानको मुद्दालाई स्थापित गर्न माओवादीले २०७० सालमा दोस्रो संविधानसभा चुनावमा जातीय पहिचानसहितको संघीयता हाम्रो एजेन्डा भनेर जनता माझ गयो तर परिणाममा माओवादी तेस्रो दल बन्यो ।

२०७२ कात्तिक १५ गते माओवादी पूर्व लडाकू कमान्डर नन्दकिशोर पुन उपराष्ट्रपति पदमा निर्वाचित भए, शपथमा दौरा–सुरुवाल लगाए । नन्दकिशोर उपराष्ट्रपति निर्वाचित भएलगत्तै उनको त्यो बेलाको निवास कपनमा यस पंक्तिकारलाई बोलाएका थिए ।

सुझावमा पहिलोपटक राष्ट्रिय पोशाक लगाउन भनेको थिएँ । कारण थियो – अघिल्लो कार्यकालका उपराष्ट्रपति परमानन्द झाको भाषा र भेषभूषाको व्यापक आलोचना भएकाले । पुनले राष्ट्रिय पोशाक लगाउन सुझाएको पछि वर्षमान पुनले चाल पाएछन् । उनले मलाई त्यो सुझाउनु गलत भएको भनी पटक–पटक आलोचना गरेका थिए ।

त्यसपछि माओवादीमा दौरा–सुरुवाल लगाउनेको लहरै चल्यो । कृष्णबहादुर महरा सभामुख बन्दा २०७४ फागुन २६ गते दौरा सुरुवाल लगाए । रामबहादुर थापाले माओवादीमा रहँदै दक्षिण एसियाली खेलकुदमा दौरा–सुरुवाल लगाए । त्यसपछि २०७८ वैशाख ५ गते ओली नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्रीका रूपमा पुनर्नियुक्ति हुँदा दौरा–सुरुवाल लगाएका थिए । 

माओवादी वरिष्ठ उपाध्यक्ष नेता नारायणकाजी श्रेष्ठ, राम कार्की लगायतका नेताहरूले पनि मन्त्री हुँदा र औपचारिक समारोहमा दौरा–सुरुवाल लगाउँदै आएका छन् ।​

राजनीतिक उद्देश्य प्राप्तिसँग जोडिएको दौरा–सुरुवाल

राजनीति के हो ? राजनीतिलाई छोटकरीमा कसरी बुझ्ने ? राजनीति के साँच्चिकै फोहोरी खेल हो ? यस्ता कैयन प्रश्नहरू हाम्रो समाजमा सधैं उठ्ने गरेका छन् ।

राजनीतिलाई सरल भाषामा बुझ्दा वर्ग, राष्ट्र तथा अन्य सामाजिक समूहबीच सम्बन्ध जोडिएका र त्यसका क्रियाकलापमा सहभागिता जनाउनु हो । जसको लक्ष्य राज्य सत्तामाथि अधिकार जमाउने र सत्तालाई आफूसँग राखेर आफू अनुकूल सञ्चालन गर्ने उद्देश्यमै केन्द्रित रहन्छ । वर्गसँगको सम्बन्ध जोड्न उसले आफ्नो नीतिहरूलाई आधारभूत मान्यता भनेर जोड्ने गर्दछ ।

निहित राजनीतिक उद्देश्य प्राप्तिका निम्ति गरिने गतिविधिले अन्ततः समाजलाई डोर्‍याउने काम गर्छ । राजनीति असल नेतृत्वको हातमा परे समाजमा सहजै परिवर्तन हुन्छ भन्ने सर्वव्यापी मान्यता हो । राजनीतिक दलका आ–आफ्नो दर्शनलाई अघि बढाउन र राज्य सञ्चालनका लागि गरिने प्रयत्नहरूबाट आउने परिणामाले समाजलाई प्रभावित स्वतः पार्छ ।

राजनीतिको यो सत्यतालाई सिंहावलोकन गर्दा २०६३ असार १ देखि २०७९ पुस ११ गतेसम्म आइपुग्दा नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डका रणनीतिहरू खुल्न केही बाँकी छैनन् । २०६३ असार १ गते कास्की सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रचण्डलाई हेलिकप्टरबाट काठमाडौं ल्याए । उनलाई एयरपोर्टबाट सिधै बालुवाटार प्रधानमन्त्री निवासमा उत्तर ढोकाबाट प्रवेश गराइएको थियो ।

बिहान सवा ११ बजे प्रवेश गरे पनि शान्ति प्रक्रियाका प्रारम्भिक सहमति गर्न राति ८ः०० बजेको थियो । 

पहिलो पत्रकार सम्मेलनमा प्रचण्ड, बाबुराम निलोमा हल्का फुस्रो रंगको कमिज र पाइन्टमा थिए । अर्को दिन उनीहरू डोटी कार्यक्रममा जाने तय भइसकेको थियो । १ गते राति प्रचण्ड कहाँ बसे भन्ने चासो थियो । उनी ठमेलको

कर्मचारी सञ्चय कोष अगाडि साधारण तिब्बत होली डे इनमा बास बसेका थिए । ३ गतेको कान्तिपुरमा ‘राजधानीमा प्रचण्डको एक रात’ शीर्षकमा एङ्कर पंक्तिकारको बाइलाइनमा छापिएको थियो ।

त्यहीँबाट शुरू भयो उनको खुला राजनीति । तर भूमिगतकालको जीवनशैली र रणनीतिको ‘ह्याङओभर’ले उनको राजनीतिक जीवन र मुलुकमा धेरै उतारचढाव आएका छन् ।

नेपाली समाज कसरी निर्माण भयो ? यसको लामै बहसको खाँचो छ । यसको अर्थ हुन्छ इतिहासको पुनर्लेखन । इतिहासविद्हरू भन्ने गर्छन्, ‘सामाजिक विज्ञानका विविध विषयः समाजशास्त्र, मानवशास्त्र, इतिहास, राजनीति शास्त्र, संस्कृति, भूगोल आदिमध्ये इतिहास सबैभन्दा बलियो विधा हो ।’

महेशराज पन्तले इतिहासकार सूर्यविक्रम ज्ञवालीका कृतिबारे लेखेका छन्, ‘६ वटै कृति गोरखाली इतिहासमा उत्कर्ष भएकाले उनी इतिहासलाई राष्ट्र वा जातिको गौरवको दृष्टिले हेर्थे भन्ने देखिन्छ ।’ मूलतः यहाँ प्रधानमन्त्री प्रचण्डको इतिहास केलाउँदा उनी छोड्न पनि सक्छन्, जोडिन पनि सक्छन्, छाडेर जानेहरू पनि धेरै छन् ।

‘प्रचण्डपथ’ छायाँको त्रासबाट बच्न अन्ततः ‘महेन्द्रीय राष्ट्रवाद’को पोशाकको सहारा लिनुपरेको छ । हिजो बाँडेका जातीय, क्षेत्रीय, भाषिक पहिचानसहितको संघीयता, आत्मनिर्णयको अधिकार अन्ततः एउटै दौरा–सुरुवालले स्वाहा बनाइदियो । बाँकी त्यही प्रचण्ड मात्रै बाँकी थियो । ‘माओवादी’ विघटन गर्ने पटक–पटक सार्वजनिक अभिव्यक्ति आएकै हो ।

सशस्त्र संघर्षका संस्थापक १७ मध्ये यतिखेर खाली हात छ प्रचण्डसँग । मोहन वैद्य, सीपी गजुरेल, हरिभक्त कँडेल क्रान्तिकारी माओवादी, रामबहादुर थापा, लेखराज भट्ट एमाले, लोकेन्द्र विष्ट खेतीकिसान, बाबुराम अझै अलग, पोष्टबहादुर बोगटीको निधन, केही विभाजनपछि पुनः एकीकरण । इतिहासबाट शिक्षा लिने हो, वर्तमान सत्य हो, भविष्य आफैंले निर्धारण गर्ने हो । प्रचण्डले न इतिहासबाट शिक्षा लिन्छन्, न वर्तमानको सत्यतालाई स्वीकार्छन्, न भविष्य निर्धारण गर्छन् । उनका समकालीनहरूले छोड्दै गर्दा आफ्नै ‘प्रचण्डपथ’को छायाँले समेत पुष्पकमल दाहाललाई तर्साइरहेको छ ।

‘प्रचण्डपथ’ छायाँको त्रासबाट बच्न अन्ततः ‘महेन्द्रीय राष्ट्रवाद’को पोशाकको सहारा लिनुपरेको छ । हिजो बाँडेका जातीय, क्षेत्रीय, भाषिक पहिचानसहितको संघीयता, आत्मनिर्णयको अधिकार अन्ततः एउटै दौरा–सुरुवालले स्वाहा बनाइदियो । बाँकी त्यही प्रचण्ड मात्रै बाँकी थियो । ‘माओवादी’ विघटन गर्ने पटक–पटक सार्वजनिक अभिव्यक्ति आएकै हो ।

२०६३ फागुनमा बागलुङ जाँदा तपाईंको जन्मथलो कास्की ढिकुरपोखरीमा साइलीआमाले अँगालो हालेर ‘ओई छविलाल आइपुग्यो ३० वर्षपछि’ भनेकी थिइन् । साइलीआमाले भने जस्तै छविलाल त बन्न सक्नुहुन्न, तपाईंको ‘प्रचण्ड’ अन्त्यमा दौरा–सुरुवालको तुनाले समापन गरिदियो । पुष्पकमल दाहाल बने पुग्छ । हार्दिक बधाई !

salt training

कमेन्ट गर्नुहोस्