
काठमाडौं, ३२ साउन — भारतको पूर्वी लद्दाखमा नियन्त्रणरेखामा भारतीय र चिनियाँ सैनिकहरूका बीच मंगलवार ढुंगा हानाहानका साथै सानतिनो झगडा नै भएको छ ।

डोक्लाम विवादका कारण दुवै देशका सैनिक आमनेसामने भइरहेको बेलामा यो घटना भएको हो ।
स्रोतहरूका अनुसार दुई देशका सैनिकहरूले पांगोङ त्सोमा झगडा गरेका थिए । उक्त इलाकाको दुई तिहाइ भाग चीनको नियन्त्रणमा छ ।
‘जनमुक्ति सेनाका जवानहरू भारतीय भूमिमा प्रवेश गर्न खोज्दा भारतीय सेनाले दुईचोटि रोकेपछि दुई पक्षबीच झगडा भएको थियो,’ एक स्रोतले बतायो ।
‘ढुंगा हानाहान हुँदा दुवै पक्षका सैनिकहरू सामान्य घाइते भएका छन् । पछि गएर चिनियाँ सैनिकहरू त्यहाँबाट हटेका थिए,’ स्रोतले थप्यो ।
तर भारतीय सेनालाई यसबारेमा सोध्दा केही पनि बताउन मानेन । चीनका तर्फबाट पनि यससम्बन्धमा कुनै बयान आएको छैन ।
द टाइम्स अफ इन्डियाबाट