०९ असार २०८३, मंगलबार

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै
प्रतिकात्मक तस्वीर

रुकुम पूर्वको सिस्ने गाउँपालिका–७ र ८ सँगै पुथा उत्तरगंगा गाउँपालिकाको ८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइए पनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । 

जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन ।

यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् । 

मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो तरिकाले दाना लाग्दा पनि खपत हुने बजार नपाउँदा विगतदेखि नै यहाँका किसान मर्कामा छन् । लुम्बिनी प्रदेशको एक मात्र अग्र्यानिक जिल्ला घोषणा भएको रुकुम पूर्वमा उत्पादित सुन्तलालाई खेर जान नदिन स्थानीयस्तरमै जुस बनाउन थालिएको छ ।

बाहिरबाट प्रशिक्षक ल्याएर सुन्तला उत्पादन गरिरहेका किसानलाई जुस बनाउने तालिम प्रदान गरेपछि किसानले खेर जाने सुन्तलाबाट जुस उत्पादन गरिरहेका छन् । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम पूर्वले किसानलाई ३ दिनसम्म जुस बनाउने तालिम प्रदान गरेको थियो । 

तालिमका प्रशिक्षक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर सुर्खेतका वरिष्ठ खाद्य संरक्षण अधिकृत भेषबहादुर थापाले ३ प्रकारको जुस बनाउन सिकाइएको बताए । उनका अनुसार किसानलाई ‘नेक्टर जुस’ बनाउन सिकाइएको छ । यसमा केमिकल केही नमिसाएको र शुद्ध भएकाले धेरै राख्न नमिल्ने भन्दै जुस तयार पारेको १ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने बताए । अर्को ‘स्क्वास जुस’ बनाउन सिकाइएको छ । यो जुस १ लिटरमा ३ लिटर पानी मिसाएर खान सकिने वरिष्ठ खाद्य संक्षण अधिकृत थापाले बताए ।

अर्को सामान्य जुस बनाउन सिकाइएको छ । यसमा चिनी, पानी, खाद्य रङ लगायत प्रयोग गरिएको उनको भनाइ छ । उनले भने, ‘स्क्वास र जुसलाई ९ महिनाको लेबलिङ गरिएको छ । जुसको २५ र स्क्वासको १८० रुपैयाँ बोतल मूल्य पर्छ ।’

तालिमले सुन्तलाको जुस निर्माणमा किसानको उत्साह देखिए पनि भौगोलिक विकटता र आवश्यक स्रोतसाधनको अभावले चुनौती भने रहेको उनको भनाइ छ ।

तालिम पाएपछि सुन्तला किसान गणेश रावलले ठूला दाना बजारमा लगेर बिक्री गर्ने र सानो खालको दानाको जुस तयार पारेर बजारमा बिक्री गर्ने बताए । यसअघि मसिनो दाना र बजारमा बिक्री नभएको सुन्तला चाम्रिएर, कुहिएर खेर जाने गरेको बताउँदै अब हातमा सीप भएकाले खेर जाने सुन्तलाको जुस बनाइ त्यसबाट आम्दानी गर्न सकिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्