१२ असार २०८३, शुक्रबार

अर्थमन्त्रीसँगको वार्तापछि उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

अर्थमन्त्रीसँगको वार्तापछि उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग वार्ता भएपछि पूर्वका उद्योगी तथा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । बुधवार अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि पत्रकार सम्मलेन गर्दै ६ वटा वाणिज्य संघहरुले वार्तामा भएको सहमति कार्यान्वयन हुने अपेक्षासहित आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका हुन् । 

उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरु विगत एक महिनादेखि महँगो व्याजदर र चालुपूँजी कर्जा मार्गदर्शनका बिरूद्ध आन्दोलनरत थिए । नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालय जिम्मेवारी लिएका अर्थमन्त्री पौडेलले आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेका थिए ।  व्यवसायीहरुले सरकारले पुस २७ गतेसम्म आवश्यक मागहरु सम्बोधन नगरेमा पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् । 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले अर्थमन्त्रीबाट व्यवसायीका समस्याप्रति सरकार, अर्थ मन्त्रालय गम्भीर रहेको र सरकारले छिटोभन्दा छिटो समस्या समाधानका लागि प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त भएकाले आफूहरुले आन्दोलन स्थगित गरेको बताए । वार्तामा पुस २८ गतेभित्र व्याज भुक्तानी तिर्ने समय थप गर्ने, र पुनःकर्जा क्रमिकता दिन छिट्टै निर्णय हुने प्रतिवद्धता व्यक्त भएको पनि उनले बताए । 

अर्थमन्त्रीसँगको वार्तासँगै सबै बिरोधका कार्यक्रम स्थगित गर्ने निर्णय भएको उनको भनाइ छ ।  सरकारलाई विश्वास गरी समस्या समाधान छिटो हुनेमा आश्वस्त भइ जिल्ला फर्कन र चालु बिरोधका सबै कार्यक्रम स्थगित गरी सरकार तथा नियमन निकायबाट समयमै सकारात्मक निर्णय आउने अपेक्षा गरेको उनको आग्रह छ । 

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले व्यवसायीहरुको मागप्रति अर्थमन्त्री सकारात्मक भएकाले आन्दोलन स्थगित गरेको बताए । अर्थमन्त्रीले देशको अर्थतन्त्र बलियो बनाउने र व्यवसायीहरुको माग सम्बोधन गर्ने बताएपछि सोही विश्वासले आन्दोलन स्थगित गरेको उनले बताए ।

अर्थमन्त्रीसँगको वार्तापछि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले संयुक्त विज्ञप्ति जारी गरी आन्दोलन स्थगित भएको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्