२६ जेठ २०८३, मंगलबार

गमगढी–बालै सडक दुई महिनापछि आयो सञ्चालनमा

गमगढी–बालै सडक दुई महिनापछि आयो सञ्चालनमा

गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । 

छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो । लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो । छायाँनाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताए । 

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्ला बाहिर लैजान सहज भएको छ । स्थानीय रामकृष्ण भामले कोदो, सिमी, फापरलगायत उत्पादन खरिद गर्न जिल्ला बाहिरका व्यापारी आउन थालेको उनको भनाइ छ । सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढुङ्गाको बिक्री बढेको छ । स्थानीयस्तरमा विकास निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्न सहज भएको छायाँनाथ रारा पालिका–६ का हर्कबहादुर कुलालले बताए । 

गमगढी–बालै सडक खुलाउन छायाँनाथ रारा नगरपालिकाले पहल गरेको हो । नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको बताए । “सडक स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको छ”, उनले भने । रासस

salt training

कमेन्ट गर्नुहोस्