
विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा लाग्ने भन्सार तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्देशन दिएका छन् ।
उनले विदेशबाट आउने नेपालीले ल्याउने मोबाइलमा कडाइ गरिएको भन्दै तत्काललाई उक्त व्यवस्था कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् ।
विदेशमा बसेर नेपाल फर्कँदा ल्याउन पाइने मोबाइलमा गरिएको कडाइका विषयमा अहिले नै चलिरहेको प्रक्रियामै रहन दिन निर्देशन दिइएको हो ।
विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नो–रेमिट्यान्स ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए ।
उनीहरूले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिकमा विरोध जनाइरहेका थिए । यो निर्णयसँगै एमडीएमएस लागू हुने निर्णय पनि प्रभावित हुने भएको छ ।
एमडीएमएस लागू भएपछि भन्सार छलेर ल्याइएका मोबाइल सेट नचल्ने भनिएको थियो । विदेशबाट उपहारस्वरूप ल्याएको मोबाइल पनि प्राधिकरणमा दर्ता गरेर मात्रै चलाउनुपर्ने छ ।
अवैध मोबाइल नियन्त्रण र चोर पैठारी रोक्न एमडीएमसको व्यवस्था ल्याइएको हो ।