०२ साउन २०८३, शनिबार

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ । परिषद्ले शुक्रवार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए । उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताए । 

अध्यक्ष शर्माले सडक महोत्सव नगरिकन आम सर्वसाधारणलाई ठमेल लैजान नसकिने बताए । उनले सडक महोत्सवमा आधुनिक सांगीतिक कार्यक्रमदेखि सांस्कृतिक सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिए । उनले अंग्रेजी नयाँ वर्षको कार्यक्रममा १ लाख दर्शक भित्र्याउने अपेक्षा रहेका बताए । 

१ लाख दर्शकहरूको व्यवस्थापनका लागि पनि आवश्यक तयारी गरिसकेको आयोजकले जनाएको छ । सडक महोत्सवको लागि हरेक रेष्टुराँहरूले आफ्ना प्याकेजहरू सामाजिक सञ्जालबाट जानकारी गराइसकेको पनि अध्यक्ष शर्माले बताए । उनले सडक महोत्सवमा आउने आगन्तुकलाई सस्तोमा मिठो खानेकुरा ख्वाउने प्रतिबद्धता जनाए । 

शर्माले सडकमा नै सोचेजस्तो पारिवारिक वातावरणमा खान, बस्न, घुम्न पाउने बताए । नयाँ वर्षको कार्यक्रम विगतका भन्दा फरक र ठूलो हुने बताए । उनले ठमेललाई पर्यटकीय नगरीको रूपमा सरकारले घोषणा गर्नुपर्ने बताए । उनले ठमेललाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय नगरी बनाउन राज्यले पूर्वाधार विकासमा पनि जोड दिनुपर्नेमा जोड दिए । 

न्यु इयर इभ तथा ठमेल सडक महोत्सव २०७९ साल पुस १६ गते शनिवार ठमेल केशरमहल सञ्चयकोष अगाडि साँझ ५ः३० बजेबाट शुरु भई मध्यरातिसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने  आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली मौलिक कला, संस्कृति, सांगीतिक कार्यक्रम, ठमेलका व्यवसायीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको प्रदर्शन हुनेछ । परिषद्ले न्यु इयर इभ तथा ठमेल सडक महोत्सवका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्