
काठमाडौँ, ३२ साउन– मंसिर पहिलो साताभित्र प्रतिनिधि सभाको चुनाव गर्नेगरी निर्वाचन मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई दिएको समय बुधवार सकिँदैछ । निर्वाचन आयोगका पदाधिकारीले मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटगरी भदौ १ गतेसम्म चुनावको मिति घोषणा गर्न पुनः आग्रह गरेको हो ।
आयोगले असार २३ गते पनि प्रधानमन्त्री देउवालाई भदौ १ गतेभित्रै चुनावको मिति घोषणा गर्न भनेको थियो । मंगलवारको भेटमा पनि मंसिर पहिलो हप्तामा निर्वाचन गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न आयोगले आग्रह गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले निर्वाचनको लागि आवश्यक पर्ने कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले आज (बुधबार) मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने बताएका थिए । चुनावका मिति घोषणा सम्बन्धमा प्रधानमन्त्री देउवाले बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग परामर्श गर्दैछन् ।
निर्वाचन क्षेत्र निर्धारणको लफडाआयोगले मंसिरमा चुनाव गर्नका लागि भदौ १ गते अगावै चुनावको मिति घोषणासँगै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन माग गरेको थियो । आयोगले यसअघि साउन १५ गतेभित्रै क्षेत्र निर्धारण आयोगको प्रतिवेदन मागेको थियो ।
तर सरकारले आइतवार मात्र आयोगको म्याद १५ दिन थप गरेको छ । शुरुमा २१ दिन म्याद दिएर साउन ५ गते गठन गरिएको आयोगले थपिएको समयमा काम पूरा गर्न सकेमा भदौ ११ गते मात्र प्रतिवेदन सरकारलाई बुझाउने छ । तराईमा निर्वाचन क्षेत्र बढाउनु पर्ने मधेस केन्द्रित दलहरुको दवाव छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन नआउदासम्म निर्वाचन तयारी थाल्न कठिनाइ हुने निर्वाचन आयोगले सरकारलाई जानकारी गराइसकेको छ । भदौ १ गतेभित्र चुनावो मिति घोषणा हुने अपेक्षासहित आयोगले फोटो सहितको मतदाता नामावालीमा नाम लेखाउने समय तीन दिन मात्र थप गरेको छ । निर्वाचन मिति घोषणा भएपछि नामावली थपगर्न नपाइने भएकोले मतदाता नामावली लेखाउनेको भीड लागेपनि तीन निदमात्र म्याद थप गरिएको हो ।
दुईवटा चुनाव एकै पटक गर्ने कि अलग ?प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै पटक गर्ने कि अलग अलग भन्ने बिषयमा सरकार, राजनीतिक दल र निर्वाचन आयोगबीच साझा धारणा बन्न सकेको छैन् । प्रधानमन्त्री देउवा दुईवटै चुनाव एकै पटक गर्न सकिने बताउँदै आएका छन्, भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा पनि त्यस्तै छ ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै पटक गर्न व्यबस्थापकिय कमजोरी हुने बताउदै आएको आयोग मंगलवार प्रधानमन्त्रीसँगको छलफल पछि दुईवटै चुनाव एकै पटक गर्न केही लचिलो देखिएको छ । प्रदेश र प्रतिनिधि सभाको चुनाव दुवै मिश्रित निर्वाचन प्रणाली अन्तरगत हुने भएकोले दुवै चुनाव एकै पटक गर्दा चारवटा मतपत्र छाप्नु पर्ने आयोगले बताउँदै आएको थियो ।
प्रत्यक्ष तर्फ आएको भोटलाई समानुपातिक तर्फ समेत गणना गर्न सकिने गरी एकै पटक चुनाव गर्न सकिने रनजनीतिक दलहरुले छलफल गरेका छन् ।
दुईवटै चुनाव एकै चरणमा गर्न आयोगले सकारात्मक संकेत देखाएपनि सरकार भने आयोगले भने अनुसार बिहीवार नैै चुनावको मिति घोषणाको तरखरमा लागेको छैन् । चुनावको मिति घोषणा गर्नेवारे मंगलवारको बैठकमा कुनै छलफल नभएको सरकारका एक मन्त्रीले लोकान्तरलाई बताए ।
प्रधानमन्त्री देउवाको आशन्न भारत भ्रमण पछिमात्र चुनावको मिति घोषणा हुने कांग्रेस स्रोत बताउछ ।
पछिल्ला केही दिनयता तराईमा बाढी र पहाडी क्षेत्रमा ठूलो जनधनको क्षति भएका कारण सरकारी संयन्त्रको ध्यान त्यसतर्फ केन्द्रीत छ । प्रधानमन्त्री, गृहमन्त्री लगायतका मन्त्रीहरु बाढी प्रभावितको समस्या समाधानमा केन्द्रीत भएको कारण भोलि नै निर्वाचनको मिति घोषणा नगर्ने मनस्थितिमा रहेको एक मन्त्रीले बताए ।
उनका अनुसार प्रधानमन्त्री संविधान संशोधन लगायतका राजपाको मागलाई सम्बोधन गरेपछि मात्र निर्वाचनको मिति घोषणको पक्षमा छन् ।