
काठमाडौं, ३२ साउन — अभिनेत्री मनीषा कोइराला बुधवार ४७ वर्षकी भइन् । काठमाडौंमा जन्मिएकी मनीषाले बलिउडका सुपरहिट फिल्महरूमा खेलेर नाम कमाइन् तर रक्सी र लागूऔषधको लतले उनको करीयर नै बर्बाद गरिदियो ।

क्यान्सरका कारण लामो समय स्क्रीनबाट गायब भएकी मनीषाले डियर माया फिल्मबाट कम्ब्याक गरिन् । फिल्मले खासै चर्चा नकमाएपनि उनको साहसको प्रशंसा भने भयो ।
मनीषाले सन् १९९१ मा निर्देशक सुभाष घईको फिल्म सौदागरबाट बलिउडमा डेब्यु गरेकी थिइन् । यसमा उनी दुई महान् कलाकार दिलीप कुमार र राज कुमारका साथ देखिएकी थिइन् ।
फिल्ममा उनका हिरो थिए विवेक मुशरान । विवेकको पनि त्यो पहिलो फिल्म थियो । यो फिल्म उक्त वर्षको ब्लकबस्टर हिट फिल्म थियो ।
पहिलो फिल्मले नै मनीषालाई सुपरस्टार बनायो । त्यसपछि पनि उनले सुपरहिट फिल्महरूमा काम गरिन् । बम्बे, १९४२ अ लभ स्टोरी, अकेले हम अकेले तुम लगायतका फिल्मले उनलाई उम्दा अभिनेत्रीका रूपमा चिनायो ।
तर मनीषाले स्टारडम कायम राख्न सकिनन् र लगातार फ्लप फिल्म खेलिन् । यसका कारण उनलाई तनाव भयो र त्यही बेलामा उनलाई लागूऔषध र रक्सीको लत लाग्यो ।
करीयर बिग्रेपछि मनीषाको निजी जीवनमा पनि समस्या आउन थाल्यो । यसबीच उनले व्यापारी सम्राट् दाहाललाई भेटिन् । सन् २०१० मा उनीहरूको बिहे भयो ।
तर यो बिहे धेरै दिन टिकेन र उनी हरेक दिन श्रीमानसँग झगडा गर्न थालिन् । दुई वर्षमै उनीहरूको सम्बन्ध विच्छेद भयो ।
पीडा भुलाउनलाई उनी लागूऔषध सेवन गरिरहिन् ।
सन् २०१२ मा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । उनले काठमाडौं र मुम्बईमा उपचार गराइन् । पछि उनी अमेरिका गइन् । चार वर्षको उपचारपछि उनी ठीक पनि भइन् ।
अहिले मनीषा सामाजिक कामहरूमा लागेकी छन् । उनको आगामी फिल्म सञ्जय दत्तको बायोपिक हो जसमा उनी सञ्जयकी आमा नरगिसको भूमिकामा छिन् ।
दैनिक भास्करबाट