
पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावनाका साथै देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी वा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ० डिग्री र अधिकमत तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ । शनिवार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।