
काठमाडौं, ३२ साउन — साउदी अरबमा महिलाहरूले पूरै जिउ छोपिने बुर्का लगाएर हिँड्नुपर्छ । तर त्यही देशमा एउटा यस्तो पनि ठाउँ छ जहाँ महिलाहरूले समुद्री तटमा बसेर जे मन लग्यो त्यही गर्न पाउँछन् ।

अर्धनग्न भएर तटमा पल्टिरहेका महिलाहरू यहाँ भेटिन्छन् ।
यो साउदी अराम्को हो । यसलाई अमेरिकीहरूले नै बसाएका हुन् र अमेरिकी शहर जस्तै छ ।
पाकिस्तानी मूलकी आयशा मलिक अराम्कोमा जन्मेर र हुर्केकी हुन् । उनीसँग अमेरिकी राहदानी छ । पेशाले फोटोग्राफर उनले तस्वीरहरूको किताब तयार गरेकी छन् । यसको शीर्षक छ — 'अराम्को : अबभ दी आयल फील्ड्स' ।
साउदी अराम्कोलाई दहरन पनि भनिन्छ । यो ५८ वर्गकिलोमिटरमा फैलिएको छ । यहाँ एक निजी समुद्री तट पनि छ जहाँ अराम्कोमा स्थानीयवासी र उनीहरूको पाहुना मात्र जान पाउँछन् ।
यहाँको जीवनशैली अमेरिकाको जस्तै छ । सन् १९३० को दशकमा यस उपनगरलाई अमेरिकीहरूका लागि बसाइएको थियो ।
खासमा साउदी अरबमा पेट्रोलियमको खोजी भएपछि तेल निकाल्ने जिम्मा स्ट्यान्डर्ड ओयल अफ क्यालिफोर्निया नामक अमेरिकी कम्पनीले लिएको थियो । त्यसका इन्जिनियर र कर्मचारीहरू धेरैजसो अमेरिकी नै थिए ।
अमेरिकीहरूलाई घरको जस्तो महसूस गराउन कम्पनी र साउदी सरकारको सहयोगमा यो उपनगर बसाइएको थियो ।
पहिले त यसको सञ्चालन अमेरिकी कम्पनीले नै गर्थ्यो तर अहिले साउदी सरकारको यसमाथि नियन्त्रण छ ।
एजेन्सी